नेपाल खबर

नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको एकदिवसीय सिरिज भोलिदेखी- रोहित भन्छन्, ‘घरेलु मैदानको भरपुर सदुपयोग गर्छौ’

काठमाडौं, १ फागुन । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नामिबिया, स्कटल्याण्ड र नेपालबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज मंगलबारबाट सुरु हुँदैछ । उक्त सिरिजमा सुखद् नतिजा निकाल्न नेपाली टोली तयार रहेको कप्तान रोहित पौडेलले बताएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा कप्तान रोहितले नयाँ प्रशिक्षकको आगमनले खेलाडीको मनोबल उच्च भएकाले सुखद् नतिजा निकाल्न नेपाली टोली तयार भएको बताए ।

उनले भने, ‘१० दिनमा मोन्टी सरले आएर जुन माहोल बनाउनुभएको छ त्यसले हाम्रो आत्मविश्वास बढेको छ ।’ यो सिरिज निकै महत्वपूर्ण रहेको भन्दै रोहितले घरेलु मैदानको भरपुर सदुपयोग गर्ने बताए ।

एक साताअघि मात्र औपचारिक रुपमा नियुक्त भएका नेपाली टोलीका प्रशिक्षक मोन्टी देशाईले छोटो समयको क्याम्प निकै फलदायी भएको र १० दिनको अवधिमा आफूले खेलाडीमा भएको क्षमतालाई निखार्न प्रयास गरेको बताए । सिरिज नेपालका लागि निकै महत्वपूर्ण र कठिन दुवै भएको बताउँदै सुखद् नतिजाका लागि खेल्ने प्रशिक्षकको भनाइ छ ।

आगामी अक्टोबर–नोभेम्बरमा भारतमा हुने एकदिवशीय विश्वकपका लागि ग्लोवल क्वालिफायरमा स्थान बनाउन तथा चार वर्षअघि पाएको एकदिवशीय मान्यता जोगाइराख्न नेपालले शृंखलाका आगामी १२ खेलमा राम्रो नतिजा ल्याउनु अनिवार्य छ । कप्तान रोहितले नेपाल क्रिकेटको भविष्यसँग जोडिएको यो शृंखलामा सबै खेल जित्नुपर्ने अबस्थाबारे टिम जानकार रहेको बताए ।

लिगमा नेपाल २४ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा रहेको छ । स्कटल्याण्ड ३२ खेलमा ४६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ भने नामिबिया ३० खेल खेले ३७ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ ।

सिरिज फागुन ९ गते सम्म हुनेछ । सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग फागुन २ मा खेल्नछ । यस्तै नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फागुन ५ मा खेल्नेछ । नेपालले फागुन ६ मा नामिबियासँग दोस्रो खेल खेल्दा स्कटल्याण्डसँग फागुन ९ मा पुनः खेल्नेछ ।

सिरिजका लागि नेपाली टिम
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने, गुल्शन झा, भीम सार्की, सूर्य तामाङ ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top