जीवनशैली

१० वर्षपछि अभिनयमा फर्किंदै राजबल्लभ कोइराला

काठमाडौं, २९ माघ । सन् २००७ मा चलचित्र ‘पर्खि बसेँ’ बाट अभिनय सुरु गरेका अभिनेता राजबल्लभ कोइरालाले ‘कामिनो’ मा अभिनय गर्ने भएका छन् ।

पछिल्लो समय ‘हाइवे टु धम्पुस’ मा देखा परेका उनी झन्डै १० वर्षपछि अभिनय गर्दै छन् । अभिनेता कोइरालाले भने, ‘आफू सुहाउँदो भूमिका पाएँ र यो महत्त्वपूर्णमध्येको एक हो । मेरो छायाँङ्कन ब्राजिल र मेक्सिकोमा तय भएको छ ।’

अमेरिकाको क्यालिफोर्निया बसोवास गर्ने अभिनेता कोइरालाले चलचित्रका लागि नेपाल आउने विषयमा माग र आवश्यकतामा आधार रहने बताए ।

अभिनेता प्रदीप खड्का र अभिनेत्री वर्षा सिवाकोटीपछि अभिनेता कोइरालालाई टिममा स्वागत गर्न पाउँदा खुसी लागेको निर्देशक दीपक ओलीले बताए ।

‘हामीलाई चाहिएको लुक्स र कलाकार पाएका छौँ । चलचित्रलाई विना सम्झौता तयार गर्नेछौँ’, उनले भने, ‘यसको कथा नै विदेशी भूमिसँग जोडिएकाले छायाङ्कन नै उतै गर्दैछौँ ।’

अभिनेता कोइरालाले अभिनय गरेका गुरु दक्षिणा, छोडी गए पाप लाग्ला, पहिलो पहिलो माया, किन लाग्छ माया, पल, मसान, अपवाद, सो सिम्पल, ६ एकान ६, हाइवे टु धम्पुसलगायतका चलचित्रको चर्चा हुने गर्छ । उनले सात वर्षमा २७ चलचित्रमा अभिनय गरेका थिए ।

स्पेनिस भाषामा ‘कामिनो’ को अर्थ बाटो हो । जोखिमपूर्ण तरिकाले अमेरिका प्रवेश गर्न चाहनेको सङ्घर्षको कथामा निर्माण हुने चलचित्र आउँदो वैशाखदेखि छायाँङ्कनमा जाने तयारी रहेको कार्यकारी निर्माता सुनिल विष्ट गौलीले जानकारी दिए ।

यसमा महेश दबाडीको पटकथा र संवाद, सौरभ लामाको छायाङ्कन, एसडी योगी र एलिस कार्कीको सङ्गीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहनेछ । नेपाली, हिन्दी, अङ्ग्रेजी र स्पेनिससहित चार भाषामा चलचित्र प्रदर्शन गरिनेछ ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top