नेपाल खबर

आकस्मिकबाहेक आइतबार देशभरका स्वास्थ्य सेवा बन्द गर्ने चिकित्सक संघको निर्णय

काठमाडौं, २८ माघ । नेपाल चिकित्सक संघले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला स्वास्थ्यकर्मीमाथि प्रहरीले गरेको हातपातको घटनालाई लिएर गम्भीर ध्यानाकर्षण जनाएको छ ।

चिकित्सक संघले शनिबार विज्ञप्ति जारी गर्दै सो घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । यही २७ माघ अर्थात शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा.जनिथलाल सिंहमाथि राष्ट्रपतिको सवारीका बेला प्रहरीले लाठी चार्ज गरी घाइते बनाएको थियो ।

संघका अध्यक्ष डा.लोचन कार्की र महासचिव डा. बद्री रिजालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘२०७९ माघ २७ गते नेपाल चिकित्सक संघका आजीवन सदस्य एवं राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा.जनिथलाल सिंहलगायत अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि प्रहरीले लाठ्ठीजार्च गरी घाइते बनाएको घटनाप्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको छ ।’

संघले उक्त घटनाको विरोधमा माघ २९ गते आइतबार देशभरका सरकारी तथा गैरसरकारी अस्पतालहरुमा आकस्मिक सेवाबाहेक अन्य सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको छ ।

‘मिति २०७९ माघ २९ गते आइतबार एकदिन देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठान लगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरिएको ब्यहोरा यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ’ विज्ञप्तिमा भनिएको छ ।

संघले स्वास्थ्य सेवाजस्तो संवेदनशील क्षेत्रमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरुमाथि भीभीआइपीको सुरक्षाका नाममा प्रहरीद्वारा सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाइनु र हजारौंको संख्यामा सेवा लिन आइरहेका बिरामीलाई समेत अस्पतालमा पुग्न नदिएर अलपत्र पारी अत्यन्तै दुराअवस्था सिर्जना गरिएकोप्रति स्तब्ध भएको जनाएको छ ।

शुक्रबार राष्ट्रपति भण्डारीको सवारीका क्रममा वीर अस्पताल अगाडि प्रहरीले डाक्टर सिंह र अन्य स्वास्थ्यकर्मीमाथि लाठि चार्ज गरेको थियो । लाठिचार्जका क्रममा घाइते भएका डा.सिंह अहिले अस्पतालमा उपचाररत छन् ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top