नेपालमा ग्यालेक्सी एस २३ सिरिजका ३ स्मार्टफोन सार्वजनिक, के के छन् फिचर्स ?
अखबार टुडे
प्रकाशित:
२०७९, २७ माघ

काठमाडौं, २७ माघ । सामसुङले आफ्नो सबैभन्दा उत्कृष्ट स्मार्टफोन ‘सामसुङ ग्यालेक्सी एस२३’ सिरिज नेपालमा सार्वजनिक गरेको छ ।

कम्पनीले काठमाडौंको बौद्धस्थित हायात होटलमा एक कार्यक्रम आयोजना गरी ग्यालेक्सी एस २३ सिरिजका ग्यालेक्सी एस २३, ग्यालेक्सी एस २३+ र ग्यालेक्सी एस २३ अल्ट्रा मोबाइल सार्वजनिक गरेको हो ।

सामसङ्गका सह उपाध्यक्ष सुङ जुन पार्क, सामसङ्गका निर्देशक प्रणय रत्न स्थापित, अभिनेता अनमोल केसी र मिस नेपाल २०२२ प्रियंकारानी जोशीले संयुक्त रूपमा सार्वजनिक गरेका थिए ।

ग्यालेक्सी एस २३ सिरिजमा शक्तिशाली क्यामेराका साथै उत्कृष्ट गेमिङ फिचर उपलब्ध रहेको कम्पनीले जनाएको छ । सामसुङको ग्यालेक्सी एस २३ सिरिजले एप्पलको आइफोन १४ सँग सिधै प्रतिस्पर्धा गर्नेछ ।

कम्पनीका अनुसार एस २३ सिरिजका फोन शून्य प्रतिशत ब्याजदरमा मासिक किस्तामा पनि किन्न पाइने कम्पनीले जनाएको छ । जसमा न्यूनतम किस्ता ६ हजार ४ सय रूपैयाँबाट सुरू हुनेछ ।

सामसुङ्गले एक पटकका लागि फोनको ब्रेकेज इन्स्योरेन्स (टुटफुट बीमा) एक वर्षका लागि उपलब्ध गराएको छ । त्यस्तै सामसङ फोनहरू अपग्रेड गर्न इच्छुक ग्राहकलाई उनीहरूको मोबाइलका लागि बढीमा ८ हजार रूपैयाँसम्मको फाइदा हुने गरी साट्ने अवसर पनि दिइएको जनाएको छ ।

ग्राहकले https://cms-prd.mygalaxy-nbs.com/NP-S23-Preorder/ र वेबसाइटमा गएर वा नजिकैको सामसङ शोरूममा औपचारिक रूपमा प्री–अर्डर दर्ता गर्न सक्नेछन्। प्री–अर्डर अफर गर्ने अवधि यही २०७९ फागुन १० गतेसम्म वा स्टक रहेसम्म मात्र रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार प्री–अर्डर गर्दा विभिन्न अफरहरू प्राप्त गर्न सकिनेछ ।

ग्यालेक्सी एस २३ मा के के छन् फिचर्स ?
नयाँ सिरिजका स्मार्टफोनमा क्यामरा फिचर्समा आमूल सुधार गरेको सामसुङको भनाइ छ । ग्यालेक्सी एस २३ अल्ट्रामा २ सय मेगापिक्सेलको मुख्य क्यामरा रहेको छ । उक्त उच्च क्षमतायुक्त adaptive pixel सेन्सरले कम प्रकाश भएको ठाउँमा पनि प्रष्ट, चम्किलो तथा विस्तृत तस्वीर खिच्न सक्नेछ ।

Lowlight photography का लागि उपयुक्त भनिएको यो फोनमा क्यामरालाई शक्तिशाली बनाउनका लागि सामसुङले क्वालकोमसँगको सहकार्यमा तयार गरेको आफ्नै चिपसेट प्रयोग गरेको छ भने आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको पनि प्रयोग गरिएको छ ।

ग्यालेक्सी एस २३ अल्ट्रामा astro hyperlapse नाम भिडियो फिचर पनि रहेको छ । यो फिचरको माध्यमबाट प्रयोगकर्ताले ताराहरुको चाल जस्तै निश्चित समयको अन्तरका चल दृश्य खिच्न सक्नेछन् र त्यसका लागि अरु कुनै विशेष उपकरणको आवश्यकता पर्नेछैन ।

सामसुङका नयाँ स्मार्टफोनमा गेमिङ क्षमता पनि उच्च रहेको छ । यसको शक्तिशाली ब्याट्रीका कारण प्रयोगकर्ताहरुले स्मार्टफोनमा लामो समयसम्म गेम खेल्न सक्नेछन् । एस २३ अल्ट्रामा ५ हजार मिलिएम्पियर आवर क्षमताको ब्याट्री छ । त्यस्तै एस २३ प्लसमा ४ हजार ७ सय र एस २३ मा ३ हजार ९ सय मिलिएम्पियर आवरको ब्याट्री छ । त्यस्तै Snapdragon 8 Gen 2 प्रोसेसर रहेको छ ।

एस २३ अल्ट्रा विभिन्न तीनवटा स्टोरेज अप्सनमा उपलब्ध छ । सबैभन्दा महंगो मोडेलमा १२ गिगाबाइटको र्याम र १ टेराबाइटको मेमोरी उपलब्ध छ । दोश्रोमा १२ जिबीको र्याम र ५१२ जिबीको मेमोरी छ भने तेश्रोमा १२ जिबीको र्याम र २५६ जिबीको मेमोरी रहेको छ ।

त्यस्तै ग्यालेक्सी एस २३ प्लसमा एउटा मोडेल ८ जिबीको र्याम र २५६ जिबीको मेमोरी तथा अर्को मोडेल ८ जिबी र्याम र ५१२ जिबी मेमोरीयुक्त छ ।

त्यस्तै आधारभूत ग्यालेक्सी एस २३ मा चाहीँ ८ जिबी र्याम र १२८ जिबी मेमोरी भएको सस्तो मोडेल तथा ८ जिबी र्याम र २५६ जिबी मेमोरी भएको महंगो मोडेल उपलब्ध छ ।

स्मार्टफोनसँगै सामसुङले ग्यालेक्सी बुक थ्री ल्यापटप सिरिज पनि सार्वजनिक गरेको छ । यसमा १६ इन्च एमोलेड स्क्रिन सहितको अल्ट्राथिन मोडेल रहेको छ । ग्यालेक्सी बुक टू भने केवल २ वटा मोडेलमा आएको छ ।

प्रतिक्रिया