टर्की भूकम्प : ज्यान गुमाउनेको सङ्ख्या २० हजार नाघ्यो
अखबार टुडे
प्रकाशित:
२०७९, २७ माघ

काठमाडौं, २७ माघ (एजेन्सी) । गत सोमबार बिहान ४ बजेर १७ मिनेटमा टर्कीको दक्षिणी सहर गाजियान्तेप नजिक केन्द्रविन्दु बनाएर गएको ७.८ म्याग्नेच्युडको विनाशकारी भूकम्पमा परी २० हजार भन्दा बढीको मुत्यु भएको छ ।

भूकम्पमा परी हालसम्म टर्की र सिरियामा गरी २० हजार भन्दा बढीको मुत्यु भएको हो । अन्तराष्ट्रि सञ्चारमाध्यमका अुनसार टर्कीमा १७ हजार ४ सयभन्दा बढी र सिरियामा ३ हजार ३ सय मानिसको मृत्यु भएको छ ।

उद्धारकर्मीहरूले अझै पनि आफ्नो काम जारी रोखका छन् । तर सय घण्टा बितिसकेकाले अब जिवितै उद्धार गर्न सकिने सम्भावना कम हुँदै गएको छ । योसँगै मृतकको संख्या अझै बढ्ने सक्ने बताइएको छ ।

उद्धार टोलीहरूलाई सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा खटाइएको छ । विश्व स्वास्थ्य संगठनले भूकम्पबाट ती दुवै देशमा गरी दुई करोड ३० लाख मानिस प्रभावित हुने अनुमान गरेको छ ।

भुकम्पले टर्कीमा मात्रै ६ हजार ५ सय वटा भवनहरू भत्किएका छन् भने थुप्रैमा गम्भीर क्षति भएको छ । भूकम्प पीडितहरू हिउँको चिसो खप्दै खुला आकाशमुनि रात बिताउन बाध्य छन् । द्वन्द्वग्रस्त उत्तरी सिरियामा अन्तर्राष्ट्रिय समुदायले पठाएको राहत पनि प्रभावकारी रूपमा पुग्न सकेको छैन ।

७.८ म्याग्नेच्युडको भूकम्पपछि लगातार दर्जनौं परकम्पहरू गएका छन् । तीमध्ये एउटा ७.७ म्याग्नेच्युडको थियो । अहिलेसम्म २ सय वटा परकम्प गएको जनाइएको छ ।

विगत २५ वर्षमा टर्कीले भोगेको यो दोस्रो ठूलो भूकम्प हो । यसअघि सन् १९९९ मा इस्तानबुल नजिकै केन्द्रविन्दु बनाएर आएको ७.६ म्याग्नेच्युडको भूकम्पमा परी झन्डै १८ हजार मानिसको मृत्यु भएको थियो ।

त्यतिबेला मापदण्ड पूरा नगरी बनाइएका धेरै घरहरू भत्किएका थिए । आपतकालीन उद्धारको प्रभावकारी संयन्त्र नहुँदा पनि त्यतिबेला धेरै मानिसहरूले ज्यान गुमाएका थिए ।

अहिलेका राष्ट्रपति रेसेप तैय्यिप एर्दागोनको दल जस्टिस एन्ड डेभलपमेन्ट पार्टी सन् २००२ मा सत्तामा आएपछि आपतकालीन उद्धारको संयन्त्रमा सुधार गरिएको थियो भने ३० लाखभन्दा बढी घरमा प्रबलीकरण गरिएको थियो ।

भवन निर्माणको मापदण्ड पूर्ण रूपमा पालना हुन नसक्दा यसपालि पनि धेरै घरहरू भत्किएका छन् । टर्की भूकम्प आइरहने क्षेत्रमा पर्छ । टर्कीको धेरै भू–भाग एनाटोलियन प्लेटमा पर्छ । सन् १९३९ मा आएको भूकम्पमा परी टर्कीमा ३० हजार बढी मानिसको मृत्यु भएको थियो ।

प्रतिक्रिया