काठमाडौं, २७ माघ । बिहीबार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका कमलबहादुर शाहले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । नवनियुक्त मुख्यमन्त्री शाहले आज पद तथा गोपनियताको सपथ लिएलगत्तै सानो आकारको मन्त्रीपरिषद विस्तार गर्ने तयारी गरेका हुन् ।
प्रदेश प्रमुख देवराज जोशीबाट मुख्यमन्त्री शाहले दिउँसो साढे तीन बजे पद तथा गोपनियताको सपथ लिनेछन् । त्यसपछि उनले आजै २ जना मन्त्री नियुक्त गर्ने तयारी गरेको बुझिएको छ ।
शाहले नेपाली कांग्रेसबाट एक जना र नेकपा (एकीकृत समाजवादी) बाट एक जना गरेर दुई जना मन्त्री नियुक्त गर्नेगरी छलफल भइरहेको बताइएको छ ।
कांग्रेसबाट प्रकाशबहादुर देउवा र नेकपा एकीकृत समाजवादीबाट दीर्घबहादुर सोडारी मन्त्री आज बन्ने सम्भावना रहेको बताइएको छ । त्यस्तै कांग्रेसबाट मानबहादुर रावल, दिवानसिंह विष्ट, बहादुरसिंह थापा पनि मन्त्रीको लाइनमा छन् ।