महिना दिनमै ढल्यो सुदूरपश्चिम सरकार, कमलबहादुर शाह नयाँ मुख्यमन्त्रीमा नियुक्त
अखबार टुडे
प्रकाशित:
२०७९, २६ माघ

धनगढी । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख देवराज जोशी संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा शाहलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

विश्वासको मत नपाएपछि सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त भएपछि शाह मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
गत २७ पुसमा नागरिक उन्मुक्ति पार्टीको समेत समर्थनमा मुख्यमन्त्री नियुक्त भएका रावलले संविधान अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो ।

बिहीबार उनी मुख्यमन्त्री भएको ३० दिन पूरा भएको थियो । तर, विश्वासको मत लिने दिन नागरिक उन्मुक्ति पार्टीका सांसद प्रदेशसभामा अनुपस्थित भएपछि रावलले विश्वासको मत पाउन नसकेका हुन् ।

नागरिक उन्मुक्ति पार्टीले पार्टीका संस्थापक नेता रेशम चौधरीलगायतका नेताको रिहाइको माग गर्दै सरकारले माग सम्बोधन नगरेमा सरकारलाई विश्वासको मत नदिने अडान लिएको थियो । रावल पदमुक्त भएपछि प्रदेश प्रमुख जोशीले नयाँ मुख्यमन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मुख्यमन्त्री शाहले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने छ ।

प्रतिक्रिया