छैटौं मिस लिम्बू, शनिबार धरानमा अडिसन : अध्यक्ष भिम लिम्बू भन्छन्, ‘विगतका संस्करणहरुभन्दा कार्यक्रम भव्य बनाउने छौँ’
अखबार टुडे
प्रकाशित:
२०७९, २६ माघ

काठमाडौं, २६ माघ । ‘मिस लिम्बू’को छैटौं संस्करणको यही २८ माघ अर्थात शनिबार धरानमा अडिसन हुँदैछ । कोभिड महामारीलगायत विभिन्न कारणले पाँचौं संस्करणबाट रोकिएको ‘सम्मान मिस लिम्बू-२०७९’का लागि धरानमा अडिसन हुन लागेको आयोजक संस्था याक्थुङ युथ एशोसिएसन ‘वाईवाईए’ले जनाएको हो । काठमाडौंमा भने फागुन ७ गते अडिसन हुने भएको छ ।

गायक भिम लिम्बूले याक्थुङ युथ एशोसिएसनको नेतृत्व लिएसँगै प्रतियागिताको छैटौं संस्करण हुन लागेको हो । उनले विगतका संस्करणहरुभन्दा यस पटक केही भिन्न र भव्यरुपमा प्रतियोगिता सम्पन्न तयारीमा जुटेको बताए । अध्यक्ष लिम्बूले भने, ‘याक्थुङ युथ एशोसिएसनको अध्यक्ष बनेसँगै मिस लिम्बू आयोजना गर्ने जिम्मेवारी मेरो काँधमा आएको छ । यो मेरो लागि अवसर र चुनौती दुवै हो ।’

त्यसो त उनी वाईवाईएको स्थापनाकालदेखि नै सचिवमा रहेर कार्य सम्पादन गर्दै आएका हुन् । अध्यक्ष भिम लिम्बू भन्छन्, ‘तर, अध्यक्ष भइसकेपछि सिंगो संस्थाप्रति नै जिम्मेवार भएर काम गर्नुपर्ने हुन्छ । यो मेरो लागि काम गरेर देखाउने अवसरका रुपमा समेत लिएको छु ।’

‘मिस लिम्बू’को सुरुवात जुन उद्देश्यले भएको थियो, त्यसको मर्म र अवधारणालाई अंगीकार गर्दै यस संस्करणलाई अझ परस्कृत बनाउने प्रयासमा लागेको अध्यक्ष लिम्बूले बताए ।

लिम्बू समुदायको कला, संस्कृति, भेषभूषाको संरक्षण तथा प्रर्वद्धनका साथै लिम्बू युवतीहरुमा भएको प्रतिभालाई मूल्यांकन गर्दै आम जनसमुदायकसमक्ष प्रस्फुटन एवं स्थापित गर्ने हेतुले ‘मिस लिम्बू’को सुरुवात गरिएको हो ।

यस संस्करणमा २० देखि २५ जनासम्म फाइलनका लागि छनोट गरिने पनि अध्यक्ष लिम्बूले बताए । ‘अहिले आवेदन उत्साहजनक परिरहेको छ’ उनले भने, ‘आवेदन दिएहरुमध्येबाट अडिसनमा हामी २५ जना छनोट गर्नेछौँ । जसले फाइनलका लागि प्रतिस्पर्धा गर्नेछन् ।’

यस संस्करणमा नेपालको काठमाडौं र धरानसँगै भारतको सिक्किम, हङकङ र युकेमा समेत अडिसन लिइने भएको छ ।
कार्यक्रमका संयोजक गायक रुकमान लिम्बू रहेका छन् । कार्यक्रम संयोजक रुकमान पनि ‘मिस लिम्बू’को यस छैटौं संस्करणलाई भव्य र सभ्य बनाउन खटिरहेको अध्यक्ष लिम्बूले बताए ।

कार्यक्रम संयोजक रुकमानका अनुसार यस संस्करणमा विभिन्न १६ वटा सबटाइटल रहने छ । उनका अनुसार शीर्ष विजेताले नगद ५० हजारसहित स्कुटी पाउनेछन् भने हङकङ भ्रमणको समेत अवसर दिइनेछ ।

यस्तै, फस्ट रनरअपले एक लाख नगद र सेकेण्ड रनरअफ विजेताले ५० हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् । बौद्धिक विकास, सौन्दर्य पहिचान र संस्कृति’ भन्ने मूल नारासहित काठमाडौंमा हुने ‘सम्मान मिस लिम्बू–२०७९’को ग्राण्ड फिनाले आगामी चैत ११ गते प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।

प्रतिक्रिया