पार्टीको नाम र चुनाव चिह्न फेर्ने माओवादीको निर्णय
अखबार टुडे
प्रकाशित:
२०७९, २६ माघ

काठमाडौं, २६ माघ । नेकपा माओवादी केन्द्रले पार्टीको नाम, चुनाव चिह्न र संरचनामा फेर्ने निर्णय गरेको छ । माघ १२ देखि २१ गतेसम्म बसेको स्थायी समिति बैठकले उक्त निर्णय गरेको हो ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल नाम, चुनाव चिह्न र पार्टीको संरचनामा आमूल परिवर्तन गर्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव स्थायी कमिटीले अनुमोदन गरेको थियो ।

प्रचण्डले प्रस्तावमा भनिएको छ, ‘संरचनागत, विधि र पद्धति, नाम र चिह्न लगायतका विषयलाई आमूल परिवर्तन गर्दै आजको जनमनोविज्ञान, भू–राजनीतिक व्यवस्थालाई एवं प्रतिस्पर्धा समेत ध्यानमा राखी सुदृढ र व्यवस्थित कम्युनिष्ट पार्टी निर्माणमा लाग्नुपर्छ ।’

अध्यक्ष प्रचण्डले यसका लागि पार्टीभित्र प्रारम्भिक चरणमा तीन महिनाको लागि कार्यक्रम प्रस्ताव गरेका छन् । उनले प्रस्तावमा भनेका छन्, ‘मूलतः वामपन्थी पार्टीहरूसँगको एकतालाई प्राथमिकतामा राखी छलफलहरू गर्ने, पार्टी एकता गर्दा वामपन्थी र गैरवामपन्थीहरू बीचको भेदलाई आत्मसात गर्दै तत् सम्बन्धी नीति र विधिहरू तय गर्ने । तत्काल एकता सम्भव नभएका वामपन्थी प्रगतिशील शक्तिहरूसँग सहकार्यका लागि मोर्चा निर्माण गर्ने ।’

माओवादीले पछिल्लो समय नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) र विप्लव नेतृत्वको नेकपालगायतसँग एकताका लागि वार्ता गरिरहेको छ ।

एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा कम्युनिष्ट पार्टी गठनका लागि तयार रहेता पनि जसपा र नेसपा समाजवादी प्रकृतिको पार्टी गठन गर्नुपर्ने पक्षमा रहेका छन् ।

माओवादीले यी चारै दललाई समेट्दै नयाँ गठन गर्नेगरी साझा प्रकृतिको नाम जुराउने कोसिश गरिरहेको छ । एकता प्रयासमा रहेका पाँचै दलको लक्ष्य समाजवाद नै रहेकाले नयाँ पार्टीको नाम ‘नेकपा समाजवादी केन्द्र’ हुन सक्ने माओवादी नेता बताउँछन् ।

प्रतिक्रिया