भारतको सर्वोच्चले सिक्किमका नेपालीलाई ‘विदेशी मूलका’ भनिएको अंश सच्यायो
अखबार टुडे
प्रकाशित:
२०७९, २६ माघ

काठमाडौं, २६ माघ (एजेन्सी) । भारतको सर्वोच्च अदालतले सिक्किमका नेपालीभाषीलाई ‘विदेशी मूलका मानिसहरू’ भनी लेखिएको फैसला सच्याएको छ ।

आयकर सम्बन्धी विवादमा भारतको सर्वोच्च अदालतले करिब एक महिना अघि सिक्किमका नेपालीभाषीलाई विदेशी मूलका नागरिक भनेको थियो । सर्वोच्चको उक्त फैसलापछि सिक्किममा पछिल्लो समय आन्दोलन चर्किएको थियो ।

सिक्किम राज्य सरकारले नेपालीभाषीलाई आप्रवासी भनिएको फैसला सच्याउन माग गर्दै दायर गरेको रिटमाथि सर्वोच्चका न्यायाधीश एमआर शाह र बीभी नागरथनाको इजलासले सिक्किमका नेपालीभाषीलाई आप्रवासी भनिएको फैसला सच्याएको हो ।

फैसललामा लेखिएको ‘विदेशी मूलका आप्रवासी नागरिक’ शब्द हटाउने आदेश सर्वोच्चले दिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

पाँच दशकअघिसम्म छुट्टै देशका रुपमा रहेको सिक्किम सन् १९७१ मा भारतमा विलय भएको थियो । अझै पनि त्यहाँका बासिन्दालाई हेर्ने दिल्ली संस्थापनको नजरियामा भने फेरबदल आइनसकेको गुनासो हुने गर्छ ।

प्रतिक्रिया