सुदूरपश्चिम प्रदेशसभाको बैठक सर्‍यो, मुख्यमन्त्रीले पाउला त विश्वासको मत ?
अखबार टुडे
प्रकाशित:
२०७९, २६ माघ

काठमाडौं, २६ माघ । सुदूरपश्चिम प्रदेश सभाको आजको बैठक साँझ ५ बजेसम्मको लागि सारिएको छ ।

मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने अन्तिम दिनमा निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीसँग सहमति हुन नसकेपछि बैठक साँझ ५ बजेसम्मको लागि सरेको हो ।

पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका रावलले आजसम्म विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ ।

सुदूरपश्चिम सरकारलाई निरन्तरता दिन निर्णयक भुमिकामा रहेको नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने अडान लिएको छ ।

७ जना सांसद रहेको उन्मुक्तिले आफ्नो पर्टीको माग सम्बोधन नभएको भन्दै विश्वासको मत नदिने निर्णय गरेको पार्टी अध्यक्ष रंजिता श्रेष्ठले बताइन् ।

उनीहरुले केन्द्रमा आएर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतसँग लामो समयदेखी विश्वासको मतको लागि सहमती जुटाउने प्रयासमा वार्ता र छलफल गरिरहेका थिए । बुधबारपनि अध्यक्ष ओलीसँग छलफल गरेका उनीहरूले आज बिहान पनि छलफल गरेका थिए ।

छलफलबाट कुनै सकारात्मक सहमति हुन नसकेपछि मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने अडान उन्मुक्ति पार्टीको छ । नागरिक उन्मुक्ति पार्टीले जेलमा रहेका रेशम चौधरीलगायत टीकापुर घटनामा जोडिएकाहरूलाई रिहाइ गर्नुपर्नेलगायत माग राख्दै आएका छन् ।

मुख्यमन्त्री हुँदा रावललाई माओवादी केन्द्रका १०, नेकपा एमालेका ९, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक जना सांसदको समर्थन थियो। प्रतिपक्षमा भने नेपाली कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका ३ र स्वतन्त्र १ जना सांसद छन् ।

प्रतिक्रिया