नेपालले विनासकारी भूकम्प गएको टर्कीमा मेडिकल टीम र अत्यावश्यक सामग्री पठाउने
अखबार टुडे
प्रकाशित:
२०७९, २५ माघ

काठमाडौं, २५ माघ । विनासकारी भूकम्प गएको टर्कीमा राहत र पुनर्स्थापनाका लागि नेपाल सरकारले मेडिकल टीम र अत्यावश्यक सामग्री पठाउने भएको छ ।

बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको दशौं बैठकले उक्त निर्णय गरेको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टर्की नेपालको असल मित्रराष्ट्र भएकाले नेपालका तर्फबाट सम्भव सहयोग गर्नुपर्ने बताए । बैठकले आवश्यक तयारी गरेर छिटोभन्दा छिटो मेडिकल टोली, मेडिकल सामग्री, लजिष्टिक सामग्री र टर्कीको वातावरणसँग मिल्ने खाद्य सामग्री पठाउने निर्णय गरेको छ ।

सोमबार बिहान टर्कीको गाजियान्टेपलाई इपिसेन्टर बनाएर आएको ७.८ म्याग्निच्युडको भूकम्पमा परी टर्की र सिरियामा गरी मृत्यु हुनेको संख्या ९ हजार नाघेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया