मुख्यमन्त्रीले विश्वासको मत नपाउने भएपछि सुदूरपश्चिमको प्रदेशसभा बैठक स्थगित
अखबार टुडे
प्रकाशित:
२०७९, २५ माघ

काठमाडौं, २५ माघ । सुदूरपश्चिम प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिने कार्यसूची थियो ।

तर विश्वासको मत पाउने निश्चित नभएपछि मुख्यमन्त्री रावलकै आग्रहमा दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको हो । अव उनले भोलि बस्ने बैठकमा विश्वासको मत लिनेछन् ।

एमाले संसदीय दलका नेता रावल गत पुस २७ गते एमालेसहित नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार रावलले भोलि विश्वासको मत लिनैपर्ने हुन्छ ।

मुख्यमन्त्रीलाई बहुमत पुग्न २७ मत आवश्यक पर्छ । तर सत्ता गठबन्धनमा निर्णायक शक्तिको रुपमा देखिएको नागरिक उन्मुक्ति पार्टीले आजसम्म सरकारलाई विश्वासको मत दिने आधार तयार नभएको बताएका छन् । सो पार्टीले टीकापुर घटनाका बन्दी रिहाइको माग गर्दै आएको छ ।

प्रदेशसभामा नेकपा एमालेका १०, माओवादी केन्द्रका सभामुखबाहेक १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सदस्य छन् । विपक्षमा रहेको नेपाली कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका ४ र १ स्वतन्त्र सदस्य छन् ।

प्रतिक्रिया