छक्का पञ्जा-४ : सहिमा र डेभिडको ‘दर्शन सलाम’ साताभरी एक नम्बर ट्रेण्डिङमा
अखबार टुडे
प्रकाशित:
२०७९, २४ माघ

काठमाडौं, २४ माघ । पछिल्लो समय लोकदोहोरी र र्याप गीतले युट्युबमा ट्रेण्डिङ जमाइरहेको बेला नेपाली फिल्म ‘छक्का पञ्जा–४’ गीत लगातार एक सातासम्म एक नम्बर ट्रेण्डिङमा पर्न सफल भएको छ ।

हाल निर्माणधिन फिल्म ‘छक्का पञ्जा–४’को ‘दर्शन सलाम’ बोलको गीत एक सातासम्म युट्युबमा एक नम्बर ट्रण्डिङमा पर्न सफल भएको छ । यो गीत मंगलबार बिहान १० बजेपछि भने दुई नम्बर ट्रेण्डिङमा रहेको छ । यो गीत रिलिज गरिएको आज आठौं दिन मंगलबार (यो सामचार तयार पारिरहँदासम्म) युट्युबमा २२ लाख ४६ हजारभन्दा बढी भ्यूअर्स पाइसकेको छ ।

पछिल्लो समय पाश्र्वगायनकी चर्चित गायिका सहिमा श्रेष्ठ र डेभिड शंकरको स्वर रहेको यस गीतको संगीत अहिलेका व्यस्त संगीतकार दीपक शर्माको रहेको छ । गायिका सहिमा आफूले गाएको फिल्म गीत धेरै समयपछि एक नम्बर ट्रेण्डिङमा आएको बताइन् । ‘हरेक कुराको समय आउनुपर्ने रहेछ’, गायिका सहिमाले भनिन्, ‘यो गीत झण्डै चार वर्षअघि नै रेकर्ड गरिएको हो । जुन गीत अहिले युट्युबमा ट्रेण्डिङमा परेको छ ।’

दीपकराज गिरी र दीपाश्री निरौलाद्वारा निर्मित ‘छक्का पञ्जा–४’का लागि यो गीत सन् २०१८ को अन्त्यतिर नै रेकर्ड गरिएको हो । यो फिल्म निर्माण घोषणासँगै कोभिड महामारी फैलिएपछि रोकिएको थियो ।

हेमराज विसीको निर्देशन रहेको ‘छक्का पञ्जा–४’को अहिले पोस्ट प्रोडक्शनमै रहेको छ । लोकशैलीको डान्सिङ बीटको यस गीतलाई फिल्म प्रमोशनका लागि निर्माण पक्षले रिलिज गरेको हो ।

यस फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्मा, केदार घिमिरे, बुद्धि तामाङ, राज आचार्यका अलावा अभिनेत्री स्वस्तिमा खड्काको पनि भूमिका रहेको छ । यस गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । अहिलेसम्म आएका ‘छक्का पञ्जा’ सिरिजका गीत हिट भएका छन् ।

प्रतिक्रिया