थप दुई अमेरिकी महिला अधिकारी र युरोपेली आयुक्त जुटा नेपाल भ्रमणमा आउँदै
अखबार टुडे
प्रकाशित:
२०७९, २४ माघ

काठमाडौं, २४ माघ । थप दई जना उच्च तहकी अमेरिकी महिला अधिकारी नेपाल भ्रमणमा आउने भएका छन् ।
नेपाल भ्रमण गर्न लागेका दुई अधिकारी दक्षिण तथा मध्यएसिया मामिला विभागकी उपसहायक राज्यमन्त्री अफ्रिन अख्तर र राष्ट्रिय सुरक्षा परिषद्को दक्षिण एसियाकी वरिष्ठ निर्देशक रियर एडमिरल इलिन लाउबाचार हुन् ।

उप सहायक राज्यमन्त्री अख्तरले नेपालको दुईदिने भ्रमण गर्न लागेको बताइएको छ । यस्तै, वरिष्ठ निर्देशक लाउबाचारको भ्रमणका लागि पनि गृहकार्य भइरहेको छ । तर उनीहरुको भ्रमण मिति भने तोकिएको छैन । यी भ्रमणका उद्देश्य के हुन् भन्ने प्रस्ट नभएको पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्य बताउँछन् ।

यसअघि माघ १६ र १७ मा अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्डले नेपाल भ्रमण गरेकी थिइन् । उनले मुख्य तीन सन्देश प्रवाह गरेर फर्केकी थिइन् । संक्रमणकालीन न्याय, अमेरिकी आर्थिक सहयोग र चीन लक्षित सन्देश प्रवाह गर्दै नुल्यान्ड फर्केकी थिइन् ।

आज मात्रै अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) की प्रमुख सामन्था पावर नेपाल आएकी छन् । मंगलबार नेपाल आएकी उनी राष्ट्रिय सुरक्षा परिषद्की सदस्य तथा क्याबिनेट तहकी अमेरिकी अधिकारी पनि हुन् । पछिल्लो समय लगतार अमेरिकी अधिकारीहरुको भ्रमणलाई निकै चासोका साथ हेरिएको छ ।

यसैबीच अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली आयुक्त जुटा उर्पिलाइनेन एकदिने नेपाल भ्रमणमा आउने भएकी छन् । काठमाडौंस्थित युरोपेली संघ (ईयू) को दूतावासका अनुसार बुधबार नेपाल आउन लागेकी आयुक्त उर्पिलाइनेनले नेतासँग भेटघाट गर्ने कार्यक्रम छ ।

पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनेपछि ईयूबाट हुन लागेको यो पहिलो उच्च भ्रमण हो । आयुक्त उर्पिलाइनेन नेपालमा युरोपेली संघका विभिन्न कार्यको सुरुआत गर्न आउन लागेको ईयूले जनाएको छ ।

प्रतिक्रिया