माओवादी सहभागी भएपछि मधेस सरकारले पायो पूर्णता
अखबार टुडे
प्रकाशित:
२०७९, २४ माघ

काठमाडौं, २४ माघ । मधेस प्रदेशको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले माओवादी केन्द्रलाई पनि सरकारमा सहभागी गराएर तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

माओवादी केन्द्रबाट उद्योग वन तथा पर्यटन मन्त्रीमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अंसारी नियुक्त भएका छन् । उनीहरुको शपथ दिउँसो १ बजे हुनेछ ।

भागबण्डामा एउटा मात्रै मन्त्रालयले दिएपछि असन्तुष्ट भएको माओवादी सरकारमा सहभागी भएको थिएन । तर, केन्द्रीय नेतृत्वले सहमति गरेपछि सरकारमा सहभागी हुने निर्णय गरिएको माओवादीले जनाएको छ ।

यसअघि मुख्यमन्त्री सरोजकुमार यादवले पुस २९ गते तीन जना मन्त्री र माघ २० गते ६ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गर्नु भएको थियो । अब मधेस सरकारमा मुख्यमन्त्री, १० मन्त्री र चार राज्यमन्त्रीसहित १५ सदस्यीय मन्त्रिपरिषद् हुनेछ ।

सत्ताको नेतृत्व गरेको जसपाले अर्थ, सामाजिक विकास र खाने पानी तथा ऊर्जा विकास मन्त्रालयसहित तीन मन्त्रालय पाइसकेका छन् ।

यस्तै नेकपा एमालेले भौतिक पूर्वाधार विकास मन्त्रालय, गृह तथा सञ्चार मन्त्रालय, कानून न्याय तथा प्रदेश मामिला र महिला तथा बालबालिका, युवा तथा खेलकुदमन्त्रालयसहित चार मन्त्राय पाएको छ ।

जनमतले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र शिक्षा विज्ञान प्रविधि तथा वाणिज्य मन्त्रयसहित दुई मन्त्रालय पाएको छ ।

प्रतिक्रिया