यूएसएआईडीका प्रमुख सामन्था पावर काठमाडौंमा
अखबार टुडे
प्रकाशित:
२०७९, २४ माघ

काठमाडौं, २४ माघ । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) की प्रमुख समान्था पावर नेपाल आइपुगेका छन् । उनी दुई दिने भ्रमणका लागि आज (मंगलबार) बिहान काठमाडौं आइपुगेका हुन् ।

नेपाल आएलगत्तै समान्था भक्तपुर पुगेकी छन् । समान्थाको यस भ्रमणलाई महत्त्वका साथ हेरिएको छ । अमेरिकी दूतावासका अनुसार उनले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री विमला पौड्याल राईसँग भेट्ने कार्यक्रम रहेको छ ।

पावरले आफ्नो भ्रमण अवधिमा नेपालका नागरिक समाजका अगुवाहरू, सामुदायिक समूहहरू, विद्यार्थीहरू, व्यवसायी र सरकारी अधिकारीहरूसँग भेटेर नेपाललाई थप लोकतान्त्रिक, समृद्ध, समावेशी र लचिलो देश बनाउने प्रयास र उपलब्धिहरूबारे छलफल गर्ने यूएसएआईडीले जनाएको छ ।

साथै, उनले भ्रमणमा नेपाल सरकार र जनतासँग अमेरिकाको ७५ वर्षभन्दा लामो साझेदारीलाई जोड दिने बताइएको छ । यस क्रममा नेपालमा हालै गठन भएको नयाँ सरकारसँग आफ्नो संलग्नता बढाउने यूएसएआईडीको प्रतिबद्धतालाई उजागर गर्ने पनि बताइएको छ । पावरको नेपाल यात्राले आर्थिक, मानवीय र भूराजनीतिक मुद्दाहरूको दायरामा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरिया नुल्याण्डले नेपाल भ्रमण गरेर फर्किएको एक साता नपुग्दै पावर नेपाल आएका हुन् । सन् २००२ मा तत्कालीन विदेशमन्त्री कोलिन पावेलले नेपालको औपचारिक भ्रमण गरेपछि अमेरिकाबाट भएको यही उच्च तहको भ्रमण हो ।

प्रतिक्रिया