काठमाडौं, २३ माघ । भारतका मोन्टी देशाई नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक नियुक्त भएका छन् । देसाइलाई नेपाली क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा नियुक्ति गर्न राष्ट्रिय खेलकुद परिषदले स्विकृती दिएको हो ।
यसअघि धेरै दिन उनको नियुक्ति प्रक्रिया राष्ट्रिय खेलकुद परिषदमा अड्किएको थियो । आज परिषदबाट सहमति आएको क्यानका सचिव दुर्गा पाठकले जानकारी दिए ।
औपचारिक नियुक्ति हुन बाँकी रहे पनि अघिल्लो साताको आइतबारदेखि नै मोन्टीले नेपाल क्रिकेट टिमलाई आनौपचारिक प्रशिक्षण गराइरहेका छन् । क्यानले उनीसँग दुई वर्षको सम्झौता गरेको बुझिएको छ ।
देसाइले ब्याटिङ सल्लाहकारका रुपमा सन् २०१७ मा नेपाली यू–१९ टिमसँग काम गरेका थिए । उनले वेस्ट इन्डिजसँगको तीन वर्षको सम्झौता सकाएपछि नेपालको प्रमुख प्रशिक्षक बन्न् आएका हुन् । देसाइले वेस्ट इन्डिज, अफगानिस्तान, युएई, क्यानडा, आइपिएलमा गुजरात लायन्यस, राजस्थान रोयल्स, पन्जाब किंग्सको प्रशिक्षकको रुपमा काम गरिसकेका छन् ।
उनको प्रशिक्षणबाट नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नामिविया र स्कटल्याण्डसँग त्रिकोणात्मक शृंखला खेल्नेछ । लिग टू मा रहेका ७ टिमबीच अन्तिमबाट दोस्रो स्थानमा रहेको नेपालले आसन्न एकदिवशीय विश्वकप छनोटमा स्थान बनाउन तथा एकदिवशीय मान्यता कायम राख्न शृंखलामा अधिकांश खेल जित्नुपर्ने स्थिति छ ।