उर्मिला अर्याल राष्ट्रियसभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित
अखबार टुडे
प्रकाशित:
२०७९, २३ माघ

काठमाडौं, २३ माघ । नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएकी छन् । उनको मात्रै उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएकी हुन् ।

सोमबारको राष्ट्रियसभाको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरे ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेपछि अर्यालको एक्लो उम्मेदवारी परेको थियो । यसअघि उपाध्यक्ष रहेकी शशीकला दाहालको चार वर्षे कार्यकाल २०७८ सालमै सकिएको थियो ।

६६ वर्षीया अर्याल मधेश प्रदेशबाट २०७८ साल माघमा राष्ट्रिय सभा सदस्य निर्वाचित भएकी थिइन् । उनी २०६९ सालमा नेकपा एमाले छाडेर माओवादी केन्द्र प्रवेश गरेकी थिइ्न ।

नेकपा मसाल पृष्ठभूमिकी उनी २०४७ सालसम्म महिला विकास अधिकृत थिइन् । उक्त पदबाट राजीनामा दिएर २०४८ सालमा उनी नेकपा एमालेको राजनीतिमा होमिएकी थिइन् ।

प्रतिक्रिया