टर्कीमा शक्तिशाली भूकम्प अपडेट : अहिलेसम्म २ सय भन्दा बढीको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७९, २३ माघ

काठमाडौं, २३ माघ (एजेन्सी) । टर्कीमा सोमबार बिहानै गएको ७.८ म्याग्नेच्युडको शक्तिशाली भूकम्पमा परी अहिलेसम्म २ सय भन्दा बढी मानिसले ज्यान गुमाएका छन् ।

मानिसहरु सुतिरहेको बेला भूकम्प गएकाले कयौं घाइते भएको र मृतक संख्या अनुमान भन्दा बढी हुन सक्ने त्यहाँका अधिकारीहरुले बताएका छन् ।

स्थानीय समय अनुसार सोमबार बिहान ४ बजेर १७ मिनेट जाँदा दक्षिणी टर्कीको गजियटेप प्रान्तको नुर्दगी भन्ने स्थानमा शक्तिशाली भूकम्प गएको थियो । पहिलो झड्का लगत्तै ६ रेक्टर स्केल भन्दा माथिका थुप्रै पराकम्पले घरभित्र पुरिएका मानिसहरूको खोजीकार्यमा कठिनाइ भएको बताइएको छ ।

भूकम्पको धक्का जोर्डन, साइप्रस, ग्रीस, लेबनान, इराक, इरान, जर्जिया, बेलायत र अमेरिकासम्म महसुश भएको जनाइएको छ । सबैभन्दा धेरै क्षति टर्की र सिरियामा भएको छ । त्यहाँ सयौं घरहरू भत्किएका छन् ।

टर्कीको आन्तरिक मामिला मन्त्रालयका अनुसार १० वटा सहरमा भूकम्पले क्षति पु¥याएको छ । घटनाको विस्तृत विवरण भने आउन बाँंकी छ । टर्की सरकारले भूकम्पपछिको उद्धार र ब्यवस्थापनका लागि राष्ट्रिय संकटकाल घोषणा गरेको छ । अमेरिकी भू–गर्भ विभागले १७.९ किलोमिटर गहिराइबाट भूकम्प गएको जनाएको छ ।

प्रतिक्रिया