काठमाडौं, २२ माघ । नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालले राष्ट्रिय सभाको उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।
सत्तारुढ गठबन्धनका साझा उम्मेदवार अर्यालको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ र देवेन्द्र दाहाल तथा खिमलाल देवकोटा समर्थक रहेका छन् । नेपाली कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेका कारण अर्याल निर्विरोध निर्वाचित हुने सम्भावना छ ।
मनोनयन दर्ता पछि सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी केन्द्रकी उम्मेदवार अर्यालले निष्पक्ष, तटस्थ र मर्यादित भएर काम गर्ने बताइन् । उनले भनिन्, ‘राष्ट्रियसभाको उपाध्यक्षमा तटस्थ र मर्यादित भएर काम गर्छु । त्यसका लागि सबै सांसदहरूको सहयोगको अपेक्षा गरेकी छु ।’
