चितवन २ मा स्वतः विजयी भएको घोषणा गर्न उमेश श्रेष्ठको माग
अखबार टुडे
प्रकाशित:
२०७९, २२ माघ

काठमाडौं, २२ माघ । नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले चितवन २ बाट आफूलाई स्वतः विजयी भएको घोषणा गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

सर्वोच्च अदालतले उक्त क्षेत्रबाट विजयी रवि लामछानेलाई सांसद नरहने निर्णय गरेसँगै आफूलाई स्वतः विजयी घोषणा गर्नुपर्ने मागसहित निर्वाचन आयोग पुगेका हुन् ।

श्रेष्ठले आफूले किन निवेदन दिएको भन्नेबारेमा पत्रकार सम्मेलनबाटै सबैलाई सपष्ट पार्ने बताए । यसबारे उनले आजै दिउँसो २ बजे हिमालय होटेलमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने सांसद नरहने फैसला गरेपछि चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाको एक सिट खाली रहेको छ ।

नेपाली कांग्रेसबाट उम्मेदवार भएका श्रेष्ठ झन्डै ३५ हजार मतले रास्वपा सभापति लामिछानेसँग पराजित भएका थिए । लामिछानेको पद खारेजीसँगै दोस्रो स्थानमा आफू रहेकाले स्वतः विजयी घोषणा गनुपर्ने माग उनको छ ।

निर्वाचन आयोगले भने रिक्त भएको चितवन–२ मा उपनिर्वाचन गर्नुपर्ने बताउँदै आएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पद रिक्त भएको अवस्थामा अर्कोलाई दिनुपर्ने कुनै कानुन नभएको बताएका छन् ।

प्रतिक्रिया