राष्ट्रियसभा उपाध्यक्षमा विपक्षी दलले उम्मेदवारी नदिने, माओवादीका अर्याल निर्विरोध
अखबार टुडे
प्रकाशित:
२०७९, २२ माघ

काठमाडौं, २२ माघ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका दलहरूले राष्ट्रियसभाको उपाध्यक्ष पदमा उम्मेदवारी नदिने भएका छन् ।

आज बिहान बसेको कांग्रेस, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेताहरूको बैठकले माओवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याललाई सघाउने निर्णय गरेका हुन् ।

सत्ता गठबन्धनकबाट माओवादी केन्द्रकी अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्षमा सर्वसम्मत हुने देखिएको छ । राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवारीका लागि आज मनोनयन दर्ता हुँदैछ । आज दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ताको समय छुट्याइएको छ । भोलि सोमबार निर्वाचन हुनेछ ।

अर्याल एक वर्षअघि भएको निर्वाचनमा माओवादीको तर्फबाट राष्ट्रियसभा सदस्य बनेकी हुन् । २०७० सालमा माओवादी प्रवेश गरेकी अर्याल त्योभन्दा पहिला एमालेमा सक्रिय थिइन् । उनी २०६३मा एमालेको तर्फबाट महिला बालबालिका तथा समाज कल्याण मन्त्री बनेकी थिइन् ।

अर्याल २०७० र २०७४ मा नेकपा माओवादी केन्द्रको तर्फबाट पर्सामा उमेदवार बनेकी थिइन् । उनी अहिले नेकपा माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य हुन् ।

प्रतिक्रिया