के कांग्रेस सभापति देउवा राष्ट्रपति बन्न तयार छन् ?
अखबार टुडे
प्रकाशित:
२०७९, २० माघ

काठमाडौं, २० माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा के राष्ट्रपति बन्न तयार छन् ? बीबीसी नेपाली सेवाले गरेको एउटा रिपोर्टअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘राष्ट्रिय सहमतिमा राष्ट्रपति’ भनेपछि कांग्रेस हौसिएको छ । यसले के देखाउँछ भने देउवा राष्ट्रपति बन्न तयार छन् ।

यसअघि प्रधानमन्त्रीको सशक्त आकांक्षी रहेका देउवा यदि राष्ट्रपति बनेका प्रधानमन्त्रीको यात्रा टुंगिने छ । कांग्रेसले सरकारलाई विश्वासको मत दिएपछि परिस्थिति फेरिएको भन्दै माओवादी नेताहरूले त्यसलाई ‘राष्ट्रिय सहमति’को आधारको रूपमा प्रस्तुत गरिरहेका छन् । कांग्रेसको राष्ट्रपति बन्ने अपेक्षाको मूल कारण पनि यही नै हो ।

पछिल्लो समय सत्ता साझेदार दलहरुबीच खटपट बढिरहेको छ । त्यसले पनि कांग्रेसलाई खेल्न सजिलो भएको एकथरीको बुझाइ छ । गृहमन्त्रीको खिचलोका कारण सत्ता साझेदार दलमा खटपट आएको हो । पछिल्लो अवस्थालाई हेरेर कतिपयले वर्तमान गठनन्धन टुट्न सक्नेसमेत बताइरहेका छन् ।

बीबीसी नेपाली सेवाको एउटा रिपोर्टमा भनिएको छ, ‘सरकार गठनसँगै एमाले अध्यक्ष केपी शर्मा ओलीको शैली प्रधानमन्त्री प्रचण्डलाई बिझाएको’ उल्लेख गर्दै शक्ति सन्तुलनका दृष्टिले पनि राष्ट्रपतिमा सहमति आवश्यक रहेको भन्ने कतिपय माओवादी नेताको सार्वजनिक अभिव्यक्तिले झन् स्पष्ट पारेको छ, माओवादीले राष्ट्रिय सहमति नेपाली कांग्रेसको नाममा खोज्न चाहेको छ ।’

यस्तै, कांग्रेसले राष्ट्रपति पाउँदा नेताहरू रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको चर्चा चलिरहेको छ । तर, सभापति देउवालाई नै राष्ट्रपति बन्न आग्रह भएको कुरा समेत उठेको केही नेताहरूले बीबीसीलाई बताएका छन् । त्यो अवस्थामा पौडेललाई संसदीय दलको नेता बनाउने विषयमा पनि चर्चा भएको कांग्रेसका केही नेताले बताएका छन् ।

सभापति नै राष्ट्रपति बनाउने कुरा पार्टीमा स्वीकार्य नहुने बताउँदै देउवा खेमाका ती नेताले बीबीसी नेपाली सेवासँग भनेका छन्, ‘त्यसको निम्ति सभापति त सर्वस्वीकार्य हो दल बाहिर पनि। तर हामीलाई गाह्रो हुन्छ । पार्टीमा साथीहरूले मान्दैनन् ।’

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले भने देउवा राष्ट्रपति बन्ने सम्भावना नरहेको बताएका छन् । उनले बीबीसीसँग भनेका छन्, ‘अरूले उहाँको बारेमा सोच्ने कुरा बेग्लै कुरा हो तर उहाँ सक्रिय पार्टी नेतृत्व छाडेर राष्ट्रपतिमा जान इच्छुक हुनुहुन्न ।’

प्रतिक्रिया