चीनको ‘जासुसी बेलुन’ अमेरिकी आकाशमा उडिरहेको पेन्टागनको दाबी
अखबार टुडे
प्रकाशित:
२०७९, २० माघ

काठमाडौं, २० माघ । अमेरिकाले यसै साता उत्तरी आकाशमा देखिएको एक जासुसी बेलुनको निगरानी गरिरहेको छ । पेन्टागनका अधिकारीहरूले उच्च स्थानमा उडिरहेको उक्त निगरानी बेलुन चीनको भएकोमा दाबी गरेका छन् ।

उक्त बेलुन बुधवार पारमाणविक क्षेप्यास्त्रको अड्डा रहेको पश्चिमी अमेरिकी राज्य मोन्टानामा देखिएपछि रक्षामन्त्री लोइड अस्टिन र यूएस चिफ्स अफ स्टाफका अध्यक्ष जनरल मार्क मिलीलगायत उच्च अधिकारीहरूको बैठक बसेका थिए ।

तर बैठकमा सैन्य कमान्डरहरूले बेलुनविरुद्ध ‘गति केन्द्रित कारबाही’ नगर्न सल्लाह दिए । त्यसो गर्दा बेलुनको भग्नावशेष भुईँमा खस्ने जोखिम हुने उनीहरूको राय थियो ।

त्यो बेलुन ठ्याक्कै कहाँ छ र कता जाँदै छ भनेर थाहा भएकाले अमेरिकी गुप्तचरविरुद्ध खतरा नभएको बताइएको छ । बेलुन व्यावसायिक एअरलाइन्सको विमान उड्नेभन्दा धेरै माथि रहेकाले नागरिक उड्डयनमा पनि कुनै खतरा नभएको बताइउको छ ।

अमेरिकाले वासिङ्टन डिसीस्थित चिनियाँ दूतावास र बेइजिङमा रहेका चिनियाँ अधिकारीहरू समक्ष यस विषय उठाएको रक्षा अधिकारीले जनाएको छ । तर चिनियाँ दूतावासले यस विषयमा तत्काल टिप्पणीका लागि गरिएको अनुरोधमा कुनै प्रतिक्रिया नजनाएको बीबीसीले उल्लेख गरेको छ ।

सन्दिग्ध वस्तु बुधवार मोन्टाना सहरमा देखा पर्नुअघि अलास्काको अलेउटियन टापुहरू र क्यानडा हुँदै बिलिङ्ग्समा उडेको थियो । अधिकारीहरूले उक्त बलुन अहिले कहाँ छ भन्ने कुरा खुलाउन चाहेनन् । उनीहरूले त्यसको आकारसहित थप विवरणहरू उपलब्ध गराउन समेत अस्वीकार गरेका छन् ।

प्रतिक्रिया