‘मिस नेपाल-२०२३’का लागि आवेदन खुला
अखबार टुडे
प्रकाशित:
२०७९, १९ माघ

काठमाडौं, १९ माघ । ‘मिस नेपाल–२०२३’को आवेदन खुला गरिएको छ । आयोजक संस्था द हिडेन ट्रेजरले बिहीबार पत्रकार सम्मेलन गरी आवेदन खुला भएको जानकारी गराएको हो । आयोजक संस्थाका अनुसार आवेदन आजै (बिहीबार)बाट खुला गरिएको छ । मिस नेपाल–२०२३ मा सहभागी हुन चाहनेले आगामी चैत १ गेतसम्म आवेदन दिन सक्नेछन् ।

मिस नेपाल–२०२३ को फाइनल आगामी जेठ १३ गते ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा हुनेछ ।

मिस नेपालमा सहभागी हुनका लागि आयोजकले न्यूनतम मापदण्ड तोकेको छ । जसअनुसार न्यूनतम ५ फिट ३ इन्च उचाइ तथा १८ देखि २७ बर्ष नकटेका अविवाहित नेपाली नागरिकले पासपोर्टसहित आवेदन दिन सक्नेछ । प्रतियोगितामा भाग लिनलाई कुनै पनि शुल्क लाग्ने छैन ।

गत वर्ष ‘मिस नेपाल वल्र्ड–२०२२’को उपाधि प्रियंका रानी जोशीले जितेकी थिइन् । यस्तै, ‘मिस नेपाल अर्थ २०२२’ डा. सरिशा श्रेष्ठ र मिस नेपाल इन्टरनेशनल–२०२२ न्यान्सी खड्का भएका थिए ।
‘मिस नेपाल अर्थ २०२२’ डा. सरिशा श्रेष्ठले फिलिपिन्सको मनिालमा आयोजित ‘मिस अर्थ २०२२’मा सहभागी भएकी थिइन् । उनले बेस्ट इको भिडियो (एसिया) जित्न सफल भएकी थिइन् ।

यस्तै, मिस नेपाल इन्टरनेशनल–२०२२ न्यान्सी खड्का जापानको टोकियोमा आयोजित मिस इन्टरनेशनल २०२२ मा सहभागी भएकी थिइ्न । यस वर्षको मिस नेपालका लागि काठमाडौंलगायत सातै प्रदेशमा अडिसन हुने आयोजकले जनाएको छ ।

काठमाडौं अडिसन १८, मार्च २०२३ मा आतिथ्य साझेदार होटेल बुढानिलकण्ठस्थित के जी एच पार्क भिलेज होटलमा हुनेछ भने इटहरी, वीरगन्ज, पोखरा, नेपालगन्ज, सुर्खेत र धनगढीलगायत क्षेत्रीय अडिसनहरु मार्च १५ २०२३ भित्रै हुनेछ ।

पत्रकार सम्मेलनमा आयोजक संस्था द हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकार र निर्देशक प्रमोदरत्न कंसकारले मिस नेपाल–२०२३ को बारेमा प्रकाश पारेका थिए ।

यस्तै, कार्यक्रममा मिस नेपाल प्रियांका रानी जोसी, मिस अर्थ डा. सरिसा श्रेष्ठ र मिस इन्टरनेशनल न्यान्सी खड्काले आ–आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया