नागरिक उन्मुक्ति पार्टीका सांसद अरूणकुमार चौधरी पक्राउ
अखबार टुडे
प्रकाशित:
२०७९, १९ माघ

काठमाडौं, १९ माघ । नागरिक उन्मुक्ति पार्टीका सांसद अरूणकुमार चौधरी पक्राउ परेका छन् । कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका सांसद चौधरी बाँकेको कोहलपुरबाट बिहीबार पक्राउ परेका हुन् ।

चौधरीलाई आजै जिल्ला अदालत कैलाली लगेर बुझाउने प्रहरी प्रवक्ता डिआइजी पोषराज पोखरेलले जानकारी दिए । उनका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो ।

चौधरी सार्वजनिक सम्पत्तिमा आगजनी गरेको मुद्दामा दोषी ठहर भएका थिए । २०६६ साल भदौ ३ गते लु २ त २११ नम्बरको ट्याक्टर कैलालीको गोरांगा खोलाबाट ढुंगा लिएर लम्की जाने क्रममा सांसद अरूण चौधरी लगायतले चालकमाथि कुटपिट तथा ट्याक्टरमा आगो लगाएका थिए ।

ट्याक्टर धनी मोतीपुरका महादेव बजगाईँले परशुराम चौधरी, अरुण चौधरी र वीरबहादुर चौधरीविरुद्ध उजुरी दिएका थिए । उनले ८ लाख ७५ हजार रुपैयाँ क्षतिपूर्ति पाउनुपर्ने दाबी गरेका थिए ।

सोही मुद्दामा ०७० वैशाख ९ गते जिल्ला अदालत कैलालीले सांसद चौधरीमाथि ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला भएको थियो ।

यस्तो आदेशपछि लामो समयसम्म फरार सूचीमा रहेका सांसद चौधरी पटक–पटक निर्वाचन लडे तर हालसम्म प्रहरीले पक्राउ गरेको थिएन । यसअघि २०७४ सालको चुनावमा उनले दुई पटक निर्वाचन लडिसकेका थिए ।

स्थानीय निर्वाचनमा मेयरका लागि उम्मेदवारी दिएका उनी एमालेका उही ट्याक्टर धनी महादेव बजगाईंसँग पराजित भएका थिए । त्यही वर्ष भएको प्रदेशसभाको निर्वाचनमा पनि उनी पराजित भए ।

स्थानीय तह र प्रदेश सभामा पराजित भएका चौधरी यसपालि प्रतिनिधिसभामा निर्वाचित भएका सांसद हुन् । प्रहरीले फैसला कार्यान्वयन गर्न पक्राउ गरिएको जनाएको छ ।

प्रतिक्रिया