सरकारबाट बाहिरिने रास्वपाको संकेत
अखबार टुडे
प्रकाशित:
२०७९, १९ माघ

काठमाडौं, १९ माघ । सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा_ले सरकारबाट बाहिरिने संकेत गरेको छ । त्यसबारे निर्णय गर्नका लागि रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दैछ ।

यअसघि ३ बजे बैठक बोलाइएको थियो । तर, प्राविधिक कारण बैठक साढे चार बजेका लागि सारिएको रास्वपा महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले जनाएका छन् । बैठक पार्टी कार्यालय बसुन्धारामा बस्दैछ ।

संसदमा १९ जना सांसद भएको रास्वपाले सत्ता गठबन्धनको भागबन्डाअनुसार उपप्रधानसहित तीन मन्त्री र एक राज्यमन्त्री पाएको थियो । सोहीअनुसार पार्टी सभापति लामिछाने उपप्रधानसहित गृहमन्त्री बनेका थिए । तर, पुरानो नागरिकता कायम नभएकाले सांसद पद बदर हुने सर्वोच्चको फैसलापछि लामिछानेको पद गुम्यो ।

त्यसपछि पुनः नेपाली नागरिकताको प्रमाणपत्र प्राप्तिपछि आफूलाई फेरि गृहमन्त्री बनाउन लामिछानेले पहल गरेका थिए । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल गृहमन्त्रालय आफैंसँग राख्ने बताएपछि रास्वपा प्रधानमन्त्री प्रचण्डसँग रूष्ट बनेको छ ।

लामिछानले आफूलाई गृहमन्त्री नदिए सरकारबाट बाहिरिने चेतावनीसमेत दिइसकेका छन् । तर, सांसदसमेत नरहेका लामिछानेलाई फेरि गृहमन्त्री बनाउन लागेको भन्दै सार्वजनिकरूपमै आलोचना भइरहेको छ । जसले गर्दा पनि प्रधानमन्त्री लामिछानेलाई गृहमन्त्री बनाउन नसकिने बताउँदै आएका छन् ।

यसैबेला रास्वपाले सरकारबाट बाहिरिने कि के गर्ने भन्ने निर्णय गर्न बैठक बोलाएको हो । रास्वपाका एक नेताले आज बस्ने बैठकबाट सरकारबाट बाहिरिने निर्णय हुन सक्ने बताए । उनले भने, ‘अहिलेको जसरी राजनीति बढिरहेको छ । त्यो हामीले चाहेजसरी भइरहेको छैन । आजको बैठकबाट सरकारबाट बाहिरिने निर्णय हुनसक्छ ।’

यसैबीच सभापति लामिछाने पनि सामाजिक सञ्जालमा स्टाटस पोस्ट गर्दै सरकारबाट बाहिरिने संकेत गरेका छन् । उनले अब मौन नबस्ने बताउँदै आफू अभिमन्यु नभएको बताएका छन् ।

उनले लखेका छन्, ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आजसम्मका लागि मात्रै हो । म अभिमन्यु होइन ।’

प्रतिक्रिया