म अभिमन्यु होइन, मेरो मौनता आजसम्म मात्रै हो : सभापति रवि लामिछाने
अखबार टुडे
प्रकाशित:
२०७९, १९ माघ

काठमाडौं, १९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्म मात्रै भएको बताएका छन् । बिहीबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै लामिछानेले आजदेखि मौन नबस्ने र आफू अभिमन्यु नभएको बताएका हुन् ।

उनले लखेका छन्, ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आजसम्मका लागि मात्रै हो । म अभिमन्यु होइन ।’

अभिमन्यु पौराणिक ग्रन्थ महाभारतका एक पात्र हुन् । अर्जुनका पुत्र अभिमन्यु महाभारतको युद्धमा कौरवहरूको चक्रव्युहभित्र पसेका थिए । तर उनलाई त्यहाँबाट निस्किने उपाय थाहा नभएपछि चक्रव्युहभित्र उनको हत्या भएको थियो । तिनै पात्रलाई उल्लेख गर्दै लामिछानले आफू त्यस्तो नभएको बताएका छन् ।

लामिछानेले पुनः नागरिकता लिएपछि स्वपाले गृह मन्त्रालयमै दाबी गरिरहेको छ । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने तत्काल गृह मन्त्रालय रास्वपालाई नदिने पक्षमा छन् । रास्वपाले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको बेला यस्तो स्टाटस लेखेका हुन् ।

यसैबीच रास्वपाले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । बैठक केन्द्रीय कार्यालय बसुन्धारामा ३ बजेका लागि बोलाइएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले सरकारमा सहभागिताका विषयमा निर्णय गर्नका लागि केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाएको बताएका छन् ।

प्रतिक्रिया