सडकमा नाचेको आरोपमा एक इरानी जोडीलाई १० वर्ष जेल सजाय
अखबार टुडे
प्रकाशित:
२०७९, १८ माघ

काठमाडौं, १८ माघ (एजेन्सी) । सडकमा नाचिरहेको भिडियो सार्वजनिक गरेपछि इरानमा एक जोडीलाई १० वर्षको जेल सजाय सुनाइएको छ ।

उनीहरूमाथि प्रहरीले भ्रष्टाचार, वेश्यावृत्ति र दुष्प्रसार गरेको आरोप लगाएको थियो जसलाई अदालतले दोषी ठहर गरेको हो ।

इरान सरकारले महिलालाई पुरुषसँग एक्लै नाच्न अनुमति दिएको छैन । तर भिडिओमा उनीहरू राजधानी तेहरानस्थित फ्रीडम टावर अगाडि नाचिरहेको देखिन्छन् । झन्डै २० लाखले पच्छाएको इन्स्टाग्राम खातामार्फत् भिडिओ सेयर गरेपछि उनीहरू पक्राउ परेका थिए ।

इरानका २१ वर्षीया अस्तियाज हकीकी र उनीसँग विवाह तय भएका २२ वर्षीय अमिर मोहम्मद अहमदीलाई भ्रष्टाचार तथा देहव्यापारलाई बढवा दिएको, राष्ट्रिय सुरक्षाविरुद्धमा योजना बनाएको र स्थापित मान्यताविरुद्ध प्रचार गरेको अभियोगमा दोषी ठहर गरिएको बीबीसीले जनाएको छ ।

उनीहरूलाई दोषी ठानिएको फरकफरक अभियोगका लागि संयुक्त रूपमा साढे १० वर्षको सजाय सुनाइएको बताइएको छ । गएको वर्ष सेप्टेम्बरमा २२ वर्षीया महसा अमिनीको प्रहरी हिरासतमा ज्यान गएपछि इरानमा सरकारविरोधी प्रदर्शन जारी छ । तर यो जोडीको नाच विरोधसँग नजोडिएको उल्लेख छ ।

इरानमा सरकारविरुद्ध प्रदर्शन किन भइरहेको छ ?
गत वर्षदेखि नै इरान अशान्त छ । देशभर सरकारविरुद्ध नाराबाजीसहित प्रदर्शन भइरहेको छ । धेरै ठाउँमा आगजनी गरिएको छ । महिलाहरूले हिजाब जलाएका छन् । सोसल मिडियामा हिजाबविरोधी पोस्टहरू गरिरहेका छन् । आन्दोलनकारी र सुरक्षाकर्मीबीच भएको झडपमा परी धेरैको ज्यान गइसकेको छ ।

इरानमा घरबाहिर निस्कँदा हिजाब लगाउनैपर्ने नियमलाई लिएर कतिपय महिलाहरूमा पहिल्यैदेखि छिटफुट असन्तुष्टि थियो । तर यो प्रस्फुटित भएको थिएन । किनकि इस्लामिक देशमा हिजाबको विरोधमा खुलमखुल्ला बोल्न महिलाहरूका लागि कम खतरापूर्ण हुँदैन । तर २१ सेप्टेम्बरमा भएको एक घटनापछि महिलाहरू ज्यानको बाजी थापेर हिजाबको विरोधमा उत्रिए ।

२१ सेप्टेम्बरमा २२ वर्षीया महसा अमिनी हिजाब नलगाई घरबाहिर निस्किइन् । उनलाई प्रहरीले देख्यो र तुरुन्तै गिरफ्तार ग¥यो । यति मात्रै होइन, हिरासतमा राखेर कुटपिट समेत ग¥यो । यातना सहन नसकेर हिरासतमै अमिनीको मृत्यु भयो ।

यसरी मारिएकी अमिनीको कसुर भनेको उनी हिजाब नलगाई बाहिर निस्कनु थियो । यो घटनापछि इरानी महिलाले पुलिसको ज्यादती र हिजाबको विरोधमा मुख खोलेका हुन् ।

सुरुमा महिलाहरू मात्रै सडकमा निस्किए । पछि इरानका कतिपय आम नागरिकले पनि हिजाबविरोधी आन्दोलनमा ऐक्यबद्धता जनाए । ९ दिनको अवधिमा यो आन्दोलनलाई संसारका धेरै देशबाट समर्थन मिलेको छ । अहिले इरान हिजाबको आगोमा जलिरहेको छ ।

आन्दोलन रोक्न सरकारले अनेक उपाय अपनाएको छ । प्रदर्शनकारीमाथि बल प्रयोग गरेको छ, इन्टरनेटमा प्रतिबन्ध लगाएको छ । तर आन्दोलन झन् झन् चर्किँदै गएको छ ।

प्रतिक्रिया