अदालतको पूर्णपाठ नआएसम्म गृहमन्त्री कसैलाई बनाउँदिनँ : प्रधानमन्त्री प्रचण्ड
अखबार टुडे
प्रकाशित:
२०७९, १७ माघ

काठमाडौं, १७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको फैसलाको पूर्ण पाठ नआएसम्म कसैलाई गृहमन्त्री नबनाउने ब्रिफिङ गरेका छन् ।

मंगलबार पेरिसडाँडामा भएको पार्टी पदाधिकारी बैठकमा प्रचण्डले सर्वोच्च अदालतबाट पूर्णपाठ आइसकेपछि मात्रै गृहमन्त्री कसलाई बनाउने भन्नेबारे छलफल हुने नबनाइने बताएका हुन् ।

बैठकपछि उपाध्यक्ष कृष्णबहादुर महराले पत्रकारहरूसँग भने, ‘अदालतको पूर्णपाठ नआउँदासम्म गृहमन्त्रीबारे थप निर्णय हुँदैन । अहिले गृहमन्त्रीको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हाल्नुभएको छ, त्यही कायम रहन्छ ।’

प्रचण्डले आफू लामिछानेलाई गैरसांसदको रूपमा मन्त्री बनाउने पक्षमा नरहेको बैठकमा ब्रिफिङ गरेका छन् । ‘अहिले गैरसांसदलाई मन्त्री बनाउँदा राम्रो सन्देश जाँदैन । यो सरकार र उनकै लागि पनि राम्रो हुँदैन’ प्रचण्डले बैठकमा भने, ‘यदि रविजीलाई मन्त्री बनाइयो भने पनि विगतमा अदालतले उल्ट्याएको थियो । फेरि उस्तै नियति हुन सक्छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नपाए सरकारबाट अलग हुने बताइ सकेका छन् । गत शुक्रबार नागरिकता मुद्दामा रवि लामिछानेको सांसद पद सर्वोच्चबाट बदर भएको थियो ।

रविले अमेरिकी नागरिकता त्याग गरे पनि पुनः कायमको प्रक्रिया पूरा भएको देखिएको थिएन । लामिछानेले आइतबार नेपाली नागरिकता पुनः कायम गरिसकेका छन् ।

लामिछानेको नागरिकता मुद्दाबारे सर्वोच्चबाट फैसलाको पूर्णपाठ आइसकेको छैन । बैठकमा माओवादीका केही नेताहरूले पनि तत्काल कसैलाई गृहमन्त्री नबनाउन सुझाव दिएका थिए ।

प्रतिक्रिया