काठमाडौं, १७ माघ । स्याङ्जाको आँधिखोला गाउँपालिका–१ को विभिन्न ठाउँमा रातैभर चोरी भएको छ । वडाका माझकटेरी राजस्वाँरा, पञ्चमूल, सिरुबारी र धारु गाउँमा श्रृंखलाबद्ध रुपमा चोरी भएको हो ।
वडाध्यक्ष पवनकाजी अधिकारीका अनुसार सोमबार राति वडा कार्यालय, बैंक, सहकारी, गुम्बा, डिपार्टमेन्टल स्टोर्स, अन्य ७ वटा पसल र केही घरमा चोरी भएको छ ।
चोरी गर्ने व्यक्तिले डिपार्टमेन्टल स्टोर्सबाट सीसीटीभी क्यामेरा, हार्डडिस्क र मनिटर नै सबै लगेको अधिकारीले बताए । अधिकारीले के कति धनमाल, नगद वा अन्य महत्त्वपूर्ण सामग्री चोरिएको भन्ने यकिन भएको छैन ।
उनका अनुसार वडा नम्बर १ को कार्यालयमा झन्डै २ लाख रुपैयाँजति राजस्व रकम रहेको थियो । यसैगरी वडा कार्यालयसँगै रहेको एनआईसी एसियाको शाखारहित बैंकिङ सेवाबाट केही रकम चोरी भएको छ ।
यस्तै, गुम्बामा तोडफोड गरी दानपेटिकालगायत महत्त्वपूर्ण सामान, पञ्चमूल दीगो कृषि सहकारी संस्था, बगाले डिपार्टमेन्टल स्टोर्स, विभिन्न ७ वटा पसल र २ घरमा ठूलो मात्रामा धनसम्पत्ति चोरी भएको अधिकारीले बताए ।
घटनाबारे स्थानीयले प्रहरीलाई खबर गरेका छन् । अनुसन्धानका लागि जिल्ला प्रहरी र पालिकास्थित प्रहरी कार्यालयबाट अहिले प्रहरी खटिइसकेका छन् ।