६ थुनुवा फरार प्रकरण: तीन प्रहरी निलम्बित, इन्सपेक्टर सहित २५ प्रहरी जिल्ला तानिए
अखबार टुडे
प्रकाशित:
२०७९, १७ माघ

जनकपुरधाम, १७ माघ । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ थुनुवा फरार भएपछि डिउटीमा खटिएका ३ प्रहरी जवान निलम्बित भएका छन् ।

आइतबार राति करिब ३ बजेको समयमा हिरासतको भित्ता फोडेर विभिन्न मुद्दाका ६ जना थुनुवा फरार भएका थिए । उक्त समयमा डिउटी बसेका तीनजना प्रहरी जवानलाई निलम्बन गरिएको हो ।

त्यसैगरी त्यहाँको सम्पूर्ण प्रहरीलाई जिल्ला तानिएको बताइएको छ । इन्सपेक्टर बेचन यादवसहित २५ जनाको टिमलाई सोमबार नै जिल्ला तानिएको हो ।

इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रन्द्रनगरमा अहिले प्रहरी नायव निरीक्षक (सई) मुक्तिनारायण यादवलाई जिम्मेवारीमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

फरार थुनुवामध्ये मध्ये हातहतियार मुद्दाका अभियुक्त मिथिला नगरपालिका २ नक्टाझिज बस्ने रोशन महतोलाई प्रहरीले सोमबार साँझ पक्राउ गर्न सफल भएको छ । अन्य ५ थुनुवा अझै पनि फरार छन् । उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

भागेकामध्ये २ जना हातहतियार, २ जना लागुऔषध र २ जना सार्वजनिक अपराध कसुरमा अनुसन्धानका लागि हिरासतमा रहेका थिए ।

प्रतिक्रिया