काठमाडौं, १६ माघ । अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटावार्ता गरेका छन् । आइतबार साँझ नेपाल आइपुगेका उपविदेशमन्त्री भिक्टोरियाले सोमबार बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।
उनीहरूबीच भेटवार्तामा द्विपक्षीय सम्बन्ध, लोकतन्त्र, विकास तथा सुशासनमा सहयोग अझ सुदृढ बनाउने उपायबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
उनले आजै बिहान धुम्बाराहीस्थित निवासमा पुगेर कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेकी छन् । भेटवार्तामा सभापति देउवाले अमेरिकाबाट नेपाललाई निरन्तर सहयोगका लागि धन्यबाद दिएका थिए ।
तीन दशकभन्दा धेरै समय कुटनीतिक क्षेत्रमा काम गरिसकेका नुल्यान्डको नेपाल भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । उनी नयाँ सरकार बनेपछि नेपाल भ्रमण गर्ने सबैभन्दा वरिष्ठ अमेरिकी अधिकारी हुन् ।
दुई दिने भ्रमणमा नेपाल आएका नुल्याण्डले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, परराष्ट्रमन्त्री विमला पौड्याललगायतसँग भेटवार्ता गर्ने बताइएको थियो । काठमाण्डौमा रहेको अमेरिकी दूतावासका अनुसार उपमन्त्री नुल्यान्डले पाटन दरबार स्क्वारको भ्रमण पनि गर्नेछन् ।