प्रधानमन्त्रीद्वारा सहिदहरुको सम्मानमा पुष्पगुच्छा अर्पण (तस्वीर)
अखबार टुडे
प्रकाशित:
२०७९, १६ माघ

काठमाडौं, १६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिदप्रति श्रदाञ्जली अर्पण गरेका छन् । सोमबार बिहान लैनचौरस्थित सहिद स्मारक पार्क पुगेर प्रधानमन्त्री प्रचण्डले पुष्पगुछा तथा सम्मान अर्पन गरेका हुन् ।

प्रधानमन्त्रीसँगै मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्यान्ड टोली र मार्चपास टोलीले शहीद स्मारक लैनचौर पुगी शहीदप्रति श्रद्धाञ्जली अर्पण गरका थिए ।

विसं १९९७ देखि २०६२/६३ हुँदै आजसम्म लोकतन्त्र स्थापना र पुनर्स्थापनाको लामो सङ्घर्षमा अनेकौँ वीर सपुतहरूले आफ्नो प्राणको आहुति दिएका छन् । ती वीर समपूतहरुको साहस, संकल्प र आदर्शलाई सम्मान गर्न प्रत्येक वर्ष माघ १० देखि १६ गते सम्म सहिद दिवस मनाइने गरिन्छ ।

विसं २०१२ देखि नै तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो ।

स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।

यसैगरी लखन थापादेखि पछिल्ला स्वतन्त्रताका आन्दोलनमा शहादत प्राप्त गर्ने शहीदको सम्झनामा मन्त्रिपरिषद्को विसं २०६४ जेठ ११ गतेको निर्णयानुसार उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वरमा निर्माण भइरहेको राष्ट्रिय शहीद स्मारकमा पनि कार्यक्रम भएको थियो ।

विसं २०६३ अघि शहीद दिवसका दिन राज्यका तर्फबाट शहीदगेटमा विशेष कार्यक्रम गरी दिवस मनाइन्थ्यो । त्यसपछि भने लैनचौरस्थित शहीद स्मारकमा विशेष कार्यक्रम हुन थालेको छ । शहीदगेटमा पनि विभिन्न सङ्घसंस्थाले कार्यक्रम गरी दिवस मनाउने गरेका छन् ।

प्रतिक्रिया