प्रहरीको गोली प्रहारबाट भारतमा स्वास्थ्यमन्त्रीको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७९, १६ माघ

काठमाडौं, १६ माघ (एजेन्सी) । प्रहरीको गोली लागेर भारतमा स्वास्थ्यमन्त्रीको मृत्यु भएको छ । आइतबार दिउँसो एक सार्वजनिक कार्यक्रममा जाने क्रममा ओडिशा राज्यका स्वास्थ्यमन्त्री नवकिशोर दासमाथि एक प्रहरीले दुई राउण्ड गोली प्रहार गरेका थिए ।

छातीमा गोली लागेर घाइते भएका दासको उपचार क्रममा मृत्यु भएको हो । गोली लागेलगत्तै उनलाई हवाई एम्बुलेन्समार्फत् उपचारका लागि भुवनेश्वरस्थित एक निजी अस्पताल लगिएको थियो ।

आइतबार झारसुगुडाको बज्रराजनगरमा उनीमाथि भारतीय प्रहरीका असईले गोली हानेको प्रत्यक्षदर्शीले बताएका छन् । स्वास्थ्यमन्त्री दासको हत्याको कारण खुलेको छैन । मुख्यमन्त्री पटनायकले घटनाको अनुसन्धान गर्न क्राइम ब्रान्चलाई जिम्मा दिइएको बताएका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, ओडिशाका मुख्यमन्त्री नवीन पटनायकलगायतले स्वास्थ्यमन्त्री दासको निधनप्रति शोक व्यक्त गरेका छन् ।

सन् २०१९ को विधानसभा चुनाव अगाडि दासले कांग्रेस पार्टी परित्याग गरी बीजु जनता दल (बीजेडी)मा प्रवेश गरेका थिए । बीजेडीका वरिष्ठ नेता दास पहिलो पटक क्याबिनेट मन्त्री बनेका थिए ।

प्रतिक्रिया