गङ्गालाल हृदय केन्द्र शैक्षिक प्रतिष्ठान हुनेछ : प्रधानमन्त्री प्रचण्ड
अखबार टुडे
प्रकाशित:
२०७९, १५ माघ

काठमाडौं, १५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शहीद गङ्गालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकास गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीको २७औँ वार्षिकोत्सव समारोहमा बोल्दै प्रधानमन्त्रीले भने, ‘तपाईंहरूले यस केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गर्ने चाहना र माग राख्नुभएको छ । यसको प्रक्रियाबारे सरकारले पनि गम्भीरतापूर्वक लिनेछ । तपाईंहरू पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत् यसको प्रक्रिया बुझ्नुहोस् । सरकार यस केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गर्न प्रतिबद्ध छ ।’

प्रधानमन्त्रीले गङ्गालाल हृदय केन्द्र देशभरीका नेपाली जनताको आशा र भरोसाको केन्द्र भएको बताए । उनले भने, ‘गङ्गालाल हृदय केन्द्र देशभरिका नेपाली जनताको आशा र भरोसाको केन्द्रका रूपमा स्थापित भएको छ । जनताले यसलाई मुटुरोगको उपचार र आफ्नो भरोसाको केन्द्रका रूपमा बुझेका छन् ।’

प्रधानमन्त्रीले नेपाली जनताको ठूलो बलिदान र सङ्घर्षबाट संविधान जारी भएको र त्यसमा सामाजिक न्याय र समानतालाई उच्च महत्व दिइएको बताए ।

‘संविधानमा नै स्वास्थ्यलाई मौलिक अधिकारको रूपमा लिपिबद्ध गरिएको छ । तर, ती मौलिक हक कार्यान्वयन गर्ने प्रयोजनका लागि कानुन बनाउन बाँकी नै छ । नेपाल सरकार संविधानले परिकल्पना गरेअनुसारका नयाँ ऐनहरू यथाशीघ्र संसदमा पेस गर्ने प्रक्रियामा छ’, प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्री दाहालले आफ्नो तेस्रो कार्यकालमा सातै प्रदेशमा विशेष स्वास्थ्य क्षेत्रसहित प्रदेश अस्पतालहरू निर्माण गरिने र त्यसमा मुटुरोगको युनिट पनि राखिने बताए । प्रधानमन्त्रीले आफू चुनौतीपूर्ण परिस्थितिमा प्रधानमन्त्री बनेको बताए ।

प्रतिक्रिया