‘के लत बस्यो’लाई ३१ लाख बढी भ्यूज
अखबार टुडे
प्रकाशित:
२०७९, १५ माघ

काठमाडौं, १५ माघ । एकाएक चर्चा कमाएको गजल ‘के लत बस्यो’ले सार्वजनिक भएको १७ दिनमै युट्युबमा ३१ लाख बढी भ्यूज पाएको छ ।

गायक तीलकसिंह पेलाको स्वर रहेको उक्त गजलको म्युजिक भिडियोलाई समाचार तयार हुँदासम्म ३१ लाख ८१ हजार भन्दा बढी पटक हेरिएको हो ।

गत पुस २८ मा गायक पेलाको आफ्नै युट्युब च्यानलबाट गजल सार्वजनिक गरिएको थियो । राग मालकौंसमा आधारित सो गजलबाट गायक पेलाले छोटै अवधिमा स्रोता/दर्शकको मन जित्न सफल भए ।

गायक पेलाकै सङ्गीत रहेको गजललाई डा. प्रदीकुमार मैनालीले लेखेका हुन्। गजलमा सङ्गीत संयोजन रिदम कँडेलले गरेका छन् । शास्त्रीय सङ्गीतका साधक पेलालाई लोकप्रियता दिलाएको उक्त गजलले युट्युबमा भ्यूजसँगै प्रशंसा पनि उत्तिकै बटुलिरहेको छ ।

सङ्गीतकर्मी, राजनीतिज्ञ, खेलाडीदेखि सार्वजनिक जीवनको उच्च ओहोदामा रहेका व्यक्तिले पनि सो गजललाई मन पराएर फेसबुक, टिकटिकजस्ता माध्यमबाट साझा गरिरहेका छन् । खँदिला शब्द, रागमा आधारित सङ्गीत र पाको गायकीले गजलमा प्राण भरेको छ ।

पेलाको गजलले गम्भीर भाव र शैलीका सङ्गीत सिर्जनालाई रुचाउने स्रोता/दर्शक पनि उत्तिकै छन् भन्ने प्रमाणित गरिदिएको छ।

डिजिटल प्रविधिले गीत/गजल सुन्नेभन्दा हेर्नतिर दर्शकलाई डो¥याइएको बेला यो गजलले भने मुग्ध भएर सुन्न धेरेलाई बाध्य पारिरहेको छ । न कुनै कथानक, न कोही पात्र। गीतको म्युजिक भिडियो पनि सामान्य छ ।

गायक पेलाले स्टुडियोमा गाइरहेको, डा. मैनालीले गजल लेखिरहेको र वाद्यवादकले वाद्ययन्त्र बजाइरहेको दृश्य मात्र त्यसमा समेटिएको छ ।

लालित्यपूर्ण स्वर, लयमा माधुर्यता र मर्मस्पर्शी शब्दले गजललाई जीवन्त बनाएको छ । मौलिक र सिर्जनात्मक प्रस्तुति गजलको अर्को विशेषता हो ।

गायक पेलाको मात्र नभएर गजलकार डा. मैनाली र सङ्गीत संयोजक कँडेलको अब्बल प्रतिभा यो गजलबाट मुखरित भएको छ । बैतडीमा जन्मिएका पेला आफैँमा सङ्गीतका गुरुसमेत हुन् ।

उनले काठमाडौँमा श्रीकृष्ण गुरुकुल सङ्गीत पाठशाला सञ्चालन गर्दै आएका छन् । गायक पेलाले विसं २०५३ मा ‘आँशु’, २०५४ मा ‘आँशु–२’, र सोही एल्बमको तस्रो भागका रूपमा केही वर्षअघि ‘निर्जन किनार’ सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया