डा. तोसिमाको स्पष्टीकरण : आईसीयू प्रोटोकल पूरा गरेरै प्रेमलाई भेटेकी हुँ
अखबार टुडे
प्रकाशित:
२०७९, १३ माघ

काठमाडौं, १३ माघ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले आत्मदाह गरेका प्रेमप्रसाद आचार्यलाई राज्य छ भन्ने अनुभूति दिलाउनका लागि आफू आईसीयूमै भेट्न गएको स्पष्टीकरण दिएकी छन् ।

शुक्रबार फेसबुकमा लामो स्टाटस पोष्ट गर्दै उनले मृत्युअघि अस्पताल पुगेर आचार्यलाई भेटेर आफूले गल्ती नगरेको समेत बताएकी छन् । मृत्युसँग संघर्ष गरिरहेको बिरामीलाई आईसीयु प्रोटोकलविपरीत भेटेको भन्दै उनको आलोचना भइरहेका बेला उनले यस्तो स्पष्टीकरण दिएकी हुन् ।

‘ऊ चाँडै यो संसार छोड्दैछ’ भन्ने थाहा भएरै समयमै गएर भेटेकामा डा. कार्कीले सन्तोष व्यक्त गरेकी छन् । उनले भनेकी छन्, ‘राज्य छैन भनेर आत्मदाहसम्मको प्रयास गरेका यो देशको नागरीकलाई ऊ चाँडै नै यो संसार छोड्दैछ भन्ने थाहा भएरै उनका आँखाहरू सधैँका लागि बन्द हुनुअगावै, उनका बोली सधैँको लागि रोकिनु अगावै, म उहाँलाई भेट्न पुगेको थिएँ । भोलिपल्ट बिहानै उहाँ बित्नुभएछ । धन्न मैले ढिला गरिनछु ।’

उनले आईसीयू प्रवेश गर्नुअघि आफूले सबै प्रोटोकल पूरा गरेको समेत दाबी छ । उनले लेखेकी छन्, ‘म आफू नै जनरल सर्जन हुँ जो विगतमा बर्न सम्बन्धीकै बिरामीहरू पनि हेर्ने गरेको छु । ८० प्रतिशतभन्दा धेरै जलन भएर बाँच्न सक्ने अवस्था न्यून भएको बिरामीलाई त्यसबेला मैले दिन सक्ने केही थिएन, मेरो हातमा केही थिएन, मात्र थोरै मेरो तर्फबाट मायाको स्पर्श, आत्मियता र अन्तिम घडीमै भएपनि थोरै आत्मबल ।’

आफूले भेटेकै कारण प्रेम आचार्यको आत्माले नयाँ सरकारलाई सधैं सम्झिरहने उनको दाबी छ । गत मंगलबार नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आफैंमाथि आगो लगाएर इलामका प्रेमप्रसाद आचार्यले आत्मदाहको प्रयास गरेका थिए ।

लगत्तै उद्धार गरेर आचार्यको उपचारका लागि कीर्तिपुर अस्पताल पुर्याइएको थियो । सो क्रममा स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले अस्पतालमा आईसीयू मापदण्ड पालना नगरी भेट्न गएको भन्दै तिब्र आलोचना भएपछि प्रष्टीकरण दिएकी हुन् ।

प्रतिक्रिया