धुर्मुस-सुन्तली फाउन्डेसन ६ महिनादेखि सम्पर्कविहीन, सरकारले विद्युत लाइन काट्दै
अखबार टुडे
प्रकाशित:
२०७९, ११ माघ

काठमाडौं, ११ माघ । नेपाल विद्युत प्राधिकरणले धुर्मुस सुन्तली फाउन्डेसनको काठमाडौंस्थित कार्यालयको बिजुली लाइन काट्ने भएको छ । हालसम्म फाउन्डेसनले ९ लाख ७४ हजार ७८० रुपैयाँ महसुल तिर्न बाँकी छ । तर, पटक पकट पत्र काट्दासमेत ६ महिनादेखि फाउन्डेसन सम्पर्कविहीन भएकाले लाइन काट्ने निर्णय प्राधिकरणले गरेको हो ।

चितवनको भरतपुर वितरण केन्द्रले बुधबार भरतपुरमा क्रिकेट रंगशाला बनाउँदा लिएको बिजुली सुविधाको बक्यौता महसुल असुलीका लागि काठमाडौंको प्राधिकरणको बानेश्वर वितरण केन्द्रमा पत्राचार गरेको थियो । सो पत्रमा फाउन्डेसनले ९ लाख ७४ हजार ७८० रुपैयाँ महसुल तिर्न बाँकी रहेकोे उल्लेख छ ।

७ महिनाअघि फाउन्डेसनले एक महिनाभित्रै बक्यौता तिर्ने प्रतिवद्धता जनाएको थियो । तर, फाउन्डेसनले बक्यौता नतिरेपछि ६ महिनाअघि रंगशालाको लाइन काटिएको थियो ।

भरतपुर वितरण केन्द्रका प्रमुख राजीव सिंह पटक–पटक ताकेता गर्दा पनि फाउन्डेसनका सञ्चालक र पदाधिकारी सम्पर्कमा नआएकाले फाउन्डेसनका सबै कार्यालयहरुमा लाइन काट्न लागिएको बताउँछन् । ‘हामीलाई बक्यौता उठाउनुपर्ने कानुनी दबाब छ, हामी बाध्य छौं,उनले भने, ‘विधिअनुसार नै लाइन काटेर बक्यौता असुल्छौँ ।’

धुर्मुस सुन्तली फाउन्डेसनले क्रिकेट रंगशाला निर्माणका क्रममा करिब १८ करोड ऋण लागेको भन्दै परियोजनाबाट हात झिकेको छ । यस्तो ऋण तिर्ने कानुनी व्यवस्था नभएपछि सरकारले परियोजना जिम्मा लिएर निर्माण अघि बढाउने योजनासमेत अलपत्र परेको छ ।

प्रतिक्रिया