फिक्सिङ प्रकरण: ४ नेपालीसहित १० जनाको संलग्नता
अखबार टुडे
प्रकाशित:
२०७९, १० माघ

काठमाडौं, १० माघ । नेपाल टी–२० लिगमा नेपाली र विदेशी गरी १० जना ‘स्पट फिक्सिङ’ र ‘लाइभ बेटिङ’ मा संलग्नता रहेको प्रहरीले जनाएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले मंगलबार पत्रकार सम्मेलन गर्दै फिक्सिङमा ४ जना नेपाली र ६ जना विदेशी नागरिकको संलग्नता देखिएको जनाएको हो ।

भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सको आयोजनामा सम्पन्न टी-२० लिगमा चार नेपालीमध्ये १ जना खेलाडी र ३ जना अन्य व्यक्ति रहेका सीआईबीले जनाएको छ । यस्तै, ६ विदेशीमध्ये काठमाडौं नाइट्स, बिराटनगर सुपर किंग्स, जनकपुर रोयल्स र फरवेष्ट युनाइटेडका गरी ४ जना व्यवस्थापक, १ जना खेलाडी र १ जना बाहिरी व्यक्ति फिक्सिङमा संलग्न देखिएको सीआईबीले जनाएको छ ।

स्पट फिक्सिङको प्रकरणमा सीआईबीले मोहम्मद आदिल आलम र एकै खेलमा १० विकेट लिएर विश्व कीर्तिमान कायम गरेका पूर्वक्रिकेटर महबुब आलमसलाई पक्राउ गरेका छन् ।

जनकपुर रोयल्समा आबद्ध २० वर्षीय मोहम्मद आदिलले स्पट फिक्सिङ गर्दै कम्तीमा २ खेलमा एक वाइड र एक नोबल बल फालेको प्रहरीले जनाएको छ भने महबुब आलमले २ जना नेपाली खेलाडीलाई फिक्सिङका लागि प्रलोभन देखाएको सीआईबीले जनाएको छ ।

मेहबुबले प्रस्ताव गरेका दुई खेलाडीमध्ये एकजना मोहम्मद आदिल आलम हुन् । अर्का खेलाडी को थिए भनेर प्रहरीले सार्वजनिक गरेको छैन । आदिलले पुस १२ गते काठमाडौं नाइट्स र १४ गते फार वेष्ट युनाइटेडविरुद्धको खेलमा मेहबुबको प्रस्ताव कार्यान्वयन गरेका थिए ।

यसैबीच सीआईबीले नेपाल क्रिकेट संघ (क्यान)का कुनै पनि पदाधिकारी फिक्सिङमा संग्लग्न भएको नदेखिएको बताए । तर फिक्सिङको प्रमाण संकलन गरेको अवस्थामा क्यान र उसको साझेदार संस्था सेभेन थ्री सबै अनुसन्धानको दायरामा आउने बताए ।

सीआईबीले आफ्नो अनुसन्धानका क्रममा क्यानले आफ्नो साझेदार संस्थाको विश्वसनीयतामा ध्यान दिन नसकेको निष्कर्ष निकालेको छ । लिगको रणनीतिक तथा व्यपारिक साझेदार, फ्रेन्चाइज टिमहरुको आर्थिक श्रोत, विगतमा क्रिकेट संघसँगको आवद्धता, पारदर्शीता, जवाफदेयिता र उत्तरदायित्व वहन गर्नसक्ने क्षमताका विषयमा उचित ध्यान दिन नसकेको आरोप क्यानमाथि छ ।

प्रतिक्रिया