पाकिस्तानमा अन्धकार : संसद ४८ घण्टाका लागि बन्द
अखबार टुडे
प्रकाशित:
२०७९, १० माघ

काठमाडौं, १० माघ (एजेन्सी) । आर्थिक मन्दीका कारण चरम उर्जा संकट भोगिरहेको पाकिस्तानमा आपूर्ति प्रणाली बन्द हुँदा देशको आधा भन्दा ठूलो हिस्सामा अन्धकार छाएको छ ।

सोमबार बिहान बिग्रिएको विद्युत् आपूर्ति प्रणाली अझै पुनर्स्थापना नहुँदा २२ करोड भन्दा बढी मानिसहरूको जनजीवन कष्टकर बनेको छ ।

राजधानी ईस्लामावाद, कराँची, लाहोर, पेशावरलगायतका ठूला शहरहरु रातभर अन्धकार बनेको थियो । पाकिस्तानी उर्जामन्त्री खुरुम दस्तागिरले राष्ट्रिय ग्रिड ब्रेकडाउन भएका कारण समस्या आएको बताएका छन् ।

विद्युत् आपूर्ति बन्द हुँदा संसद पनि ४८ घण्टाका लागि बन्द गरिएको छ भने अस्पतालहरुमा कोलाहल भएको छ । आकस्मिक अपरेसन र उपचारहरु समेत रोकिएको बताइएको छ ।

पाकिस्तानको बिजुली वितरण प्रणाली एक जटिल र नाजुक वेब हो । ग्रिडको एक भागमा समस्याले देशभरि ब्रेकडाउन निम्त्याउन सक्छ । यसअघि जनवरी २०२१ मा यस्तै ब्रेकडाउनले दक्षिणी पाकिस्तानमा देशको प्रसारण प्रणालीमा त्रुटि देखा पर्दा सम्पूर्ण देश अन्धकारमा डुबेको थियो ।

कमजोर अर्थतन्त्र, राम्रो प्रबन्ध मिलाउन नसक्नु र भण्डारण सुविधाको अभाव जस्ता कारकहरूको संयोजनका कारण पाकिस्तान लामो समयदेखि ऊर्जा अभावबाट ग्रस्त छ ।

आर्थिक संकटका कारण पर्याप्त मात्रामा तेल खरिद गर्न नसक्दा पाकिस्तानका डिजेल प्लान्टहरुले माग अनुसारको विद्युत् उत्पादन गर्न सकेका छैनन ।

प्रतिक्रिया