निगमको अनलाइन टिकटबारे मन्त्री किरातीको आक्रोस- खान त खानु, घिच्न त भएन नि
अखबार टुडे
प्रकाशित:
२०७९, ९ माघ

काठमाडौं, ९ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमका जहाजहरुको दैनिक रिपोर्ट आफूसमक्ष पेस गर्न निर्देशन दिएका छन् । निगमले स्वागत गरेको कार्यक्रममा मन्त्री किरातीले हरेक दिनको रिपोर्ट मन्त्रालयमा पठाउन निर्देशन दिएका हुन् ।

उनले भने, ‘जहाज कहाँ–कति उड्यो, कहाँ रोकियो, के कारणले रोकियो ? हरेक दिनको रिपोर्ट मन्त्रालयमा पठाउनुस् । जहाजको रिपोर्ट हरेक दिन हेर्छु । बरु म मन्त्रालयबाट १२ बजे फर्किन्छु । तर, रिपोर्ट हेरेर मात्र फर्किन्छु ।’

मन्त्री किरातीले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई समयमै जहाज उडाउन निर्देशन दिए । निकै कडा शब्दमा निगमको कार्यशैलीको आलोचना गर्दै मन्त्री किराती आफूले भनेजति काम गर्न नसके राजिनामा दिन समेत भने ।

उनले भने, ‘जहाज समयमा उडोस् । एक–एक सेकेन्डलाई किन यति बदनाम गरेको ? ठ्याक्कै तोकिएको समयमा विमान उडोस् । मैले भनेजति गर्न नसक्ने भए राजीनामा दिए हुन्छ ।’

वायुसेवा निगमको छवि बिग्रिएकोतर्फ संकेत गर्दै किरातीले आफूलाई काम चाइएको र नगमले जसरीपनि परिणाम दिनुपर्ने बताए । उनले दुनियाँभरका कम्पनी नाफामा हुँदा वायुसेवा निगम किन घाटामा चलिरहेको छ भन्ने प्रश्न गरे । उनले भने, ‘म बहुलाएर यो भनेको होइन, म ठीक नै छु । त्यसकारण निगम सुधार हुन्छ, म त्यो विश्वास गर्छु ।’

मन्त्री किरातीले आफ्नोमा धाएर जुत्ता फटाउने प्रयास नगर्न पनि सचेत दिए । उनले चेतावनीको भाषामा भने, ‘तपाईंको हरेक चलखेल तत्काल थाहा हुन्छ । आजसम्म जे–जे भयो भयो, आइन्दा यस्तो नहोस् ।’

उनले अनलाइन टिकट किन कार्यान्वयन नगरेको भन्दै निगमसँग आक्रोस पोखे । ‘यहाँ टिकट नपाइने तर, दलालले टिकट बोकेर विमानस्थल पुग्ने किन हुन्छ ? । मैले ठूलै मान्छेले यस्तो गरेको देखेको छु, खान त खानु घिच्न त भएन नि !,’ मन्त्री किरातीले भने ।

मन्त्री किरातीले निगम सुधारका लागि छिट्टै आर्थिक योजना पेस गर्न र एक महिनाभित्र अनलाइनमार्फत् टिकट काट्ने व्यवस्था गर्न अध्यक्ष अधिकारीलाई निर्देशन दिए ।

उनले निगममा करार र ज्यालादारी कर्मचारी कति छन् ? भन्ने प्रश्न गर्दै हातखुट्टा लामखुट्टेको जस्तो भएपनि काम भने नगर्ने संस्कृति रहेको बताए । उनले भर्तीकेन्द्र बनाएपछि संस्था डुबेको बताए । मन्त्री किरातीले सकारात्मक काममा सधैं साथ दिने बताए ।

प्रतिक्रिया