
काठमडौं, ९ माघ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर आदिल अन्सारी र पूर्व राष्ट्रिय क्रिकेटर मेहबुब आलमलाई प्रहरीले पक्राउ गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा ९ देखि २७ पुससम्म आयोजना भएको नेपाल टी–२० लिगमा स्पट फिक्सिङ गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुले नेपाल क्रिकेट संघ (क्यान) को रणनीति साझेदार सेभेन थ्री स्पोर्टस्का मालिक जतिन अहुवालियाको योजना अनुसार स्पट फिक्सिङमा सहयोग गरेको सीआईबी जनाएको छ । सीआईबीका अनुसार आलमले जतिनलाई अन्य खेलाडीहरुसँग पनि सम्पर्क गर्न सहयोग गरेका थिए ।
पहिला नै निर्धारण गरिएका गतिविधिका बलमा खेलको नतिजा हेरफेर गर्ने गरी निश्चित खेलाडीसँग लेनदेन गर्नु ‘स्पष्ट फिक्सिङ’ हो । ‘म्याच फिक्सिङ’ गर्ने प्रयास भए पनि हल्लाखल्ला भएपछि स्पट फिक्सिङ मात्रै सम्भव भएको सीआईबीका निर्देशक उत्तम सुवेदीले बताए ।