जनकपुरधामका दुई युवकको अपहरणपछि भारतमा हत्या
अखबार टुडे
प्रकाशित:
२०७९, ८ माघ

जनकपुरधाम, ८ माघ । धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका दुई युवकको भारतमा अपहरणपश्चात् हत्या भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–८ का २५ वर्षीय रोहित साह र वडा नम्बर–१३ का २२ वर्षीय बिष्णु साहको हत्या भएको हो ।

दुई साताअघि दुबैजना भारतको सितामढी जिल्लाको बेला परिहार बस्ने आफन्तको घरमा गएका बेला २७ पुसमा एकाएक बेपत्ता भएका थिए । त्यसपछि भोलिपल्ट दुवै जनाको परिवारलाई अपरहरणकारीले गत सोमबारसम्म ५० लाख फिरौती माग गरेका थिए ।

अपहरणकारीले बिष्णुको आवाज रेर्कड गरेर उनका आफन्तलाई फोनबाट सुनाएका थिए । अपहरणकारीले २० लाख रुपैयाँ लिएर सर्लाहीको मलंगवा नाका नजिक बोलाएपछि परिवारजनले प्रहरीलाई जानकारी गराएका थिए ।

भारतीय प्रहरी र नेपाल प्रहरी दुवै युवकलाई अपहरण मुक्त गराउन भूमिका खेलेको धनुषाका प्रहरी उपरीक्षक एसपी विश्वराज खड्काले बताए । तर, गत मंगलबारदेखि अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोडेको थियो ।

तर, आइतबार बिहान भारतको बिहार राज्यस्थित पर्सा गाउँको पश्चिमतर्फ फिल्डमा दुवैजनाको शव फेला परेको छ । उनीहरुको शव फेला पारेपछि मृतक युवकका आफन्तलाई भारतीय प्रहरीले बोलाएको थियो । उनीहरुको शव भारतको बेला परिहारस्थित प्रहरी कार्यालयमा राखिएको छ ।

घटनापश्चात प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । घनामा संलग्न रहेको आशंकामा धनुषा प्रहरीले २ जना र भारतीय प्रहरीले तीन जनालाई पक्राउ गरेको धनुषाका एसपी खड्काले जानकारी दिए ।

उनका अनुसार पक्राउ गरिएकाहरुको नाम अहिले गोप्य राखिएको छ । चारजना फरार रहेकाले खोजबिन भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया