अमेरिकी राष्ट्रपति जो बाइडेनको घरबाट गोप्य सरकारी दस्ताबेज बरामद
अखबार टुडे
प्रकाशित:
२०७९, ८ माघ

काठमाडौं, ८ माघ (एजेन्सी) । अमेरिकाका राष्ट्रपति जो बाइडनको निवासबाट गोप्य सरकारी दस्ताबेजहरू जफत गरिएको छ ।

अमेरिकी न्याय विभाग (डीओजे) अन्वेषकहरूले डेलावेयरस्थित राष्ट्रपति वाइडेनको निवासबाट थप ६ वटा गोप्य कागजातहरू फेला पारेका हुन् ।

राष्ट्रपति बाइडेनका वकिलले न्याय मन्त्रालयका अन्वेषकहरूले थप ६ वटा गोप्य कागजातहरू फेला पारेको जानकारी दिए । बाइडेनको आफ्नै हातले लेखिएको नोट र वरपरका केही सामग्रीहरू पनि जफत गरिएको वकिल बब बोवरले बताएका छन् ।

समाचार संस्था एपीका अनुसार अन्वेषकहरूले राष्ट्रपति वाइडेनको घरमा १३ घन्टासम्म खोजी गर्दा उक्त कागजातहरू फेला पारेका थिए । उक्त समयमा राष्ट्रपति वाइडेन घरमा उपस्थित थिएनन् ।

यसअघि शुक्रबार विल्मिङटनस्थित घरबाट पनि यस्तै किसिमका केही कागजातहरू फेला परेका थिए । यी कागजातहरू बाइडेनका उपराष्ट्रपति र सिनेटर भएको समयमा रहेको बताइएको छ ।

राष्ट्रपति बाइडेनले अनुसन्धानलाई पूर्ण सहयोग गर्ने भन्दै उपराष्ट्रपति रहेको समयसँग जोडिएका दस्तावेज (सम्भवत गोपनीय)को जाँचका लागि न्याय मन्त्रालयलाई अनुमति दिएका थिए ।

दस्तावेज नेसनल अर्काइभ्स र न्याय मन्त्रालयलाई सुम्पिएको राष्ट्रपति कार्यालयले जनाएको छ । जफत भएका कागजात के गर्ने भन्ने विषयमा अनुसन्धान गर्न विशेष काउन्सिल रोबर्ट हेरलाई नियुक्त गरिएको छ ।

पूर्व राष्ट्रपति ट्रम्पमाथि पनि अमेरिकी न्याय मन्त्रालयले छानबिन गरिरहेको छ । एफबीआईका अधिकारीले फ्लोरिडास्थित उनको निवासमा ३२५ वटा गोप्य र अतिगोप्य वर्गीकरण गरिएका कागजातहरू भेटिएपछि ट्रम्पमाथि अनुसन्धान अघि बढेको थियो ।

ट्रम्पले कागजपत्रहरू नष्ट गरे वा नगरेकोबारे अनुसन्धान भइरहेको छ । तर उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् ।

प्रतिक्रिया