
काठमाडौं, ८ माघ । आज मौसम थोरै स्थानमा आंशिक बदली भए पनि सामान्यतया सफा छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पनि प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदली रहे पनि देशका बाँकी भू–भागमा मौसम सफा रहनेछ ।
आज राति भने बागमती प्रदेश र मधेश प्रदेशलगायत प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदली हुने सम्भावना रहेको छ । अन्य भू–भागको मौसम सफा रहनेछ ।
सोमबार भने सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च हिमाली भुभागका थोरै स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।
यस्तै मंगलबार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावनाका साथै केही ठाउँमा हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
