
काठमाडौं, ५ माघ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नेपाल टी–२० क्रिकेट लिगमा स्पट फिक्सिङ भएको निष्कर्ष निकालेको छ ।
पुस २८ गते सकिएको लिग सुरू देखिनै विवादित थियो । लिगमा स्पट फिक्सिङको खबरहरु प्रकाशित भएपछि सिआइबीले अनुसन्धान गरेको थियो ।
अनुसन्धानबाट स्पट फिक्सिङ भएको निष्कर्ष निकालेको सिआइबी प्रवक्ता एवं एसपी संजय सिंह थापाले जानकारी दिए । यसमा केही व्यवस्थापकीय भूमिकामा रहेका अधिकारीहरू, केही नेपाली र विदेशी खेलाडी र अन्य केही व्यक्तिको संलग्नता देखिएको उनले बताए ।
सीआईबीले स्पट फिक्सिङमा संलग्न रहेकाको नाम गोप्य राखेको छ । उनले केहीविरुद्ध मुद्धा चल्ने अवस्था रहेको बताएका छन् । सेभेन थ्री स्पोर्टसका अधिकारीविरुद्ध पनि मुद्धा चल्न सक्ने स्थिति रहेको बताइएको छ ।
स्पट फिक्सिङ विवादसम्बन्धमा भएको छानबिनबारे सोमबार प्रतिवेदन सार्वजनिक गर्ने तयारी रहेको थापाले बताए ।
टेन्डर प्रकृया विना सेभेन थ्री स्पोर्ट्सलाई नेपाल टी–२० लिग ८ वर्षका लागि आयोजना गर्न दिइएपछि सुरुवातदेखि नै यो प्रतियोगिता विवादमा परेको थियो ।