
काठमाडौं, ६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मृत्युपछि आफ्नो शरीरको सम्पूर्ण अंग दान गर्ने घोषणा गरेका छन् ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले शुक्रबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको गरेको मृगौला प्रत्यारोपीको बृहत् भेला लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘म मेरो मृत्युपश्चात शरीरका सम्पूर्ण अंगदान गर्न चाहान्छु ।’
उनले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिर्गौला मात्र नभएर कलेजो प्रत्यारोपणलाई पनि थप आधुनिक र प्रभावकारी बनाइने बताए ।
उनले भने, ‘डायलासिस सेवा सर्वसाधारणको पहुँचमा थिएन । यो महङ्गो भएकाले पनि आर्थिक अवस्था कमजोर भएका मिर्गौला रोगीले सेवा लिन गाह्रो थियो । केन्द्रले विपन्न रोगीलाई सहयोग होस् भन्ने हेतुले २०६९ चैत १६ गतेदेखि निःशुल्क डायलासिस सेवा पनि आरम्भ ग¥यो । केन्द्रमा मिर्गौला मात्र नभएर कलेजो पनि प्रत्यारोपण हुने गरेको छ । यसलाई थप आधुनिक र प्रभावकारी बनाउने हाम्रो जिम्मेवारी छ ।’
कार्यक्रममा भक्तपुर धर्मभक्त मानव अंग केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले प्रधानमन्त्रीलाई ‘डोनर कार्ड’ हस्तान्तरण गरे ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १ हजार वटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा शुक्रबार बिहान प्रज्ञा भवन कमलादीमा कार्यक्रम आयोजना गरेको थियो ।