
काठमाडौं, ५ माघ । नेकपा एमालेका सांसद देवराज घिमिरे सभामुखमा निर्वाचित भएका छन् । नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेलाई ६७ मतान्तरले पराजित गर्दै घिमिरे प्रतिनिधि सभाको सभामुख निर्वाचित भएका हुन् ।
प्रतिनिधिसभाको बैठकमा २६८ सांसद उपस्थितमध्ये घिमिरेले १६७ मत पाए भने न्यौपानेले १०० मत पाइन् । एक जना सांसद मत दिएनन् ।
प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । उपसभामुखको निर्वाचन यही माघ ७ मा हुने प्रतिनिधिसभाको ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले जानकारी गराए ।
कति हुन्छ सभामुखको अधिकार ?
प्रतिनिधिसभा सभामुखको भूमिका सदनमा मात्रै सीमित छैन । संविधानअनुसार विभिन्न संवैधानिक आयोगहरूमा हुने नियुक्तिहरूमा सिफारिस गर्ने संवैधानिक परिषद्को पनि सदस्यमा पनि सभामुख रहने व्यवस्था छ ।
सभामुखले राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त र आयुक्तहरू नियुक्तिको सिफारिस गर्ने समितिको पनि नेतृत्व गर्छन् ।संविधानले राष्ट्रपति र उपराष्ट्रपति दुवैको पद रिक्त भएको अवस्थामा सभामुखले राष्ट्रपतिको काम गर्न सक्ने अधिकार दिएको छ ।
हरेक प्रतिनिधिसभा बैठकको कार्यसूची बनाउने, संसद्मा दर्ता भएका प्रस्तावहरू अघि बढाउने वा नबढाउने लगायतका काम कारबाहीमा पनि सभामुखलाई भूमिका दिइएको छ ।
पूर्वसभामुख तारानाथ रानाभाटले सभामुखसँग असीमित अधिकार रहने बताउँछन् । उनले संसद्बाट सरकारलाई निर्देशन दिने अधिकारसँगै जनताका पक्षमा काम गर्ने पनि ठाउँ रहने पनि बताए ।
सभामुखले कस्तो सुविधा पाउँछन्:
प्रतिनिधिसभाको सभामुखलाई मासिक पारिश्रमिक ६७,३२० रुपैयाँ तोकिएको छ । त्यसबाहेक प्रतिमहिना थप ३७,००० रुपैयाँ खर्च विभिन्न शीर्षकमा सभामुखले पाउँछन् । सरकारले सभामुखका लागि लैनचौरमा आवासको व्यवस्था पनि गरेको छ ।
